सूचना प्रविधि

आर्थिक पत्रकारलाई तालिम

काठमाडौँ । विभिन्न सञ्चार माध्यमममा कार्यरत ४० जना आर्थिक पत्रकारलाई प्रशिक्षण प्रशिक्षक तालिम प्रदान गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा ‘वित्तीय संघीयता’सम्बन्धी तालिम उपलब्ध गराइएको हो ।

देश संघीय संरचतामा गएपछि स्थानीय, प्रदेश र संघीय सरकारले ल्याउने वित्तीय नीति तथा वित्तीय हस्तान्तन्तरणका विषयमा पत्रकारलाई विषय विज्ञहरुबाट तालिम दिइएको थियो ।

तालिममा सामान्य प्रशासन सचिव दिनेश थपलियाले तहगत संरचनाको समन्वय गर्दै संघीयतालाई आर्थिक रुपमा सवल बनाउने विषयमा जानकारी दिए ।

त्यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बैकुण्ठ अर्यालले संघीयताले आमूल परिवर्तन चाहेको भन्दै त्यसलाई कार्यान्वयनका लागि सबै क्षेत्रको समन्वय र सकारात्मक सहयोग आवश्यक रहेको बताए ।

मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल, केवलप्रसाद भण्डारी, वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, शिव गाउँले, पूर्व सचिवहरु सोमबहादुर थापा, कृष्ण ज्ञवालीलगायतले प्रशिक्षण दिएका थिए ।

तालिमप्राप्त पत्रकारलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्रोत व्यक्तिका रुपमा स्थानीय तथा प्रदेश तहमा प्रशिक्षणका लागि पठाउने जनाएको छ ।