राजनीति

हाफ म्याराथनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भनेः लेट्स स्टार्ट

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले देश अब विकास र समृद्धिमा हिडिसकेको बताएका छन् । कान्तिपुर हाफ म्याराथनको आठौं संस्करणको शनिबा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकास र निकासको दौडमा निक्लिएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘कोही विदेशी अबको दश वर्षपछि नेपालबाट फर्केर जाँदा कसैले कस्तो रहेछ त्यो देश भनेर सोधेपछि उसले भन्नेछ – नेपाल मानिस र प्रकृतिले संयुक्त रुपमा सृजना गरेको एक स्वर्ग रहेछ । ‘नेपालमा जनतालाई खानलाउनको कुनै दुःख छैन । नेपाल उत्पादन र निर्माणमा पनि काफी अगाडि छ । नेपालीहरु स्वस्थ छन् । आरोग्यता नेपालीको पहिलो प्राथमिकतामा छ । उपचारको राम्रो विमा भएकाले रोगलाग्दा कसैलाई दुःख छैन ।’

‘दश वर्षभित्रै समृद्ध मुलुक बन्ने दाबी गर्दै उनले भने, ‘दश वर्षमा नभए कहिले हुने ? शहरमा बाटो बनिसकेपछि गाउँमा खेत खन्न जाने होइन। शहरमा बाटो बन्दै गर्दा गाउँमा खेत पनि खन्दै गर्ने हो, हिमालमा चौंरी पाल्ने हो । सबै कुरा एकै पटक गर्नै हो । लेट्स स्टार्ट ! ’