अन्तर्राष्ट्रिय

उत्तर कोरिया र अमेरिकाको शिखर वार्ता सफल बनाउन मुनले ट्रम्पलाई भेट्ने

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अर्को हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङटन जाने भएका छन् ।

चाडै नै हुने भनिएको तर अनिश्चित रहेको उत्तर कोरिया र अमेरिकाको शिखरवार्ता सफल पार्ने वातावरण बनाउन मुनले ट्रम्पले भेट्ने कार्यक्रम बनाएका हुन् ।

दक्षिण कोरियाको राष्ट्रपतीय सुरक्षा कार्यालयका उपनिर्देशक नाम ग्वान्प्योले औपचारिक भ्रमणका लागि मुन आउदो मंगलबार अमेरिकाको वासिङटन जान लागेको सञ्चारकर्मीलाई जानकारी दिए ।

ट्रम्प र उत्तर कोरियाली नेताको शिखर सम्मेलन सफल पार्नका लागि पुलको काम गर्न मुन अमेरिका जान लागेको उनले बताए ।

मुन र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत अप्रिल २७ तारिखका दिन दुई देशको सिमानामा पर्ने दक्षिण कोरियाको पान्मुन्जोममा शिखरवार्ता भएको थियो ।

दुई कोरियाको सो ऐतिहासिक वार्तामा आणविक भट्टीहरू बन्द गर्ने लगायतका महत्वपूर्ण सम्झौता भएको थियो ।

तर अहिले सोलमा दक्षिण कोरिया र अमेरिकाको सैन्य अभ्यास जारी रहेको छ । उत्तर कोरियाले उक्त अभ्यासको विरोध गर्दै आएको छ ।

उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ ।

दक्षिण कोरियाली र अमेरिकी सैन्य सम्मिलित उक्त हवाई सैन्य अभ्यास यही मे २५ सम्म जारी रहने जनाइएको छ । तर सो सैन्य अभ्यास तत्कालै रोक्नुपर्ने माग उत्तर कोरियाको रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा शिखरवार्ता हुनलागेको छ ।