समाचार

जीतगढी, रामापिथेकस र मणिमुकुन्द उद्यानको विकासमा जोड

बुटवल । जनसहभागितामा आधारित विकास योजनालाई अगाडि बढाइने भएको छ । बुटवल उपमहानगरपालिकाको दीर्घकालीन र आवधिक योजनाका बारेमा शुक्रबार आयोजित सुझाव संकलन कार्यक्रममा पुनःनिर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत इ सुशील ज्ञवालीले दिगो विकासका लागि जनसहभागिताको नमूना उपयुक्त रहेको बताए । उपमहानगरपालिका विज्ञ समूहका संयोजक ज्ञवालीले अध्ययनको विज्ञता र अनुभवको श्रेष्ठताका आधारमा योजना बनाउन सुझाव दिए ।

तिनाउ–दानव करिडोरलाई प्राथमिकतामा राख्दै जीतगढी, रामापिथेकस उद्यान, मणिमुकुन्द सेन उद्यानलगायत कैयौँ ऐतिहासिक र सांस्कृतिक सम्पदालाई विकास गर जरुरी रहेको उनले बताए । इ डा खेटराज दाहालले तिनाउ नदीलाई वरदानका रुपमा लिएर समृद्धिको आधार बनाउन जरुरी रहेकामा जोड दिए । विज्ञ डा ईश्वर गौतम, डा राजेन्द्र ओझालगायतले जनसहभागितामा आधारित योजनामै प्राथमिकता दिन सुझाव दिए ।

नगर प्रमुख शिवराज सुवेदीले शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, व्यापार, कृषि र वातावरणलाई समृद्धिको आधार मान्दै त्यसैका आधारमा योजनाको खाका बनाइने बताए । उपप्रमुख गुमादेवी आचार्यले करीब रु २६ अर्बको बजेटमा बन्ने योजनाका सम्बन्धमा समुदायको सुझाव संकलन गरिएको जानकारी दिए ।
पूर्व सांसद देवेन्द्र घिमिरे र रामचन्द्र भट्टराईले बुटवलको पहिचान जोगाउन र पर्यटकीय गन्तव्य बनाउन जरुरी रहेकामा जोड दिए। नेपाली काँग्रेसका नेता युवराज गिरीले सबैको भावना समेट्न आग्रह गरे । उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बुटवलका प्रत्येक वडामा रहेका सम्भावना र त्यहाँका समस्याको दीर्घकालीन समाधान हुने गरी योजना अगाडि सारिएको बताए । लक्षित समुदाय सबैको प्रतिनिधित्व हुने गरी भेलामार्फत सुझाव लिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद खनालले जानकारी दिए ।