कृषि

सिँचाइ सुविधा पुगेपछि रजातोलीवासीमा खुशी

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिका–७ रजातोलीको माथिल्लो खेतमा डेढ दशकदेखि सिँचाइ हुन सकेको छैन ।
गाउँ नजिकैको खोलाको पानी सिँचाइ गर्न कुलो निर्माण गरिएको भए पनि २०६१ भदौमा भएको अविरल वर्षाका कारण नहर बगायो । सिँचाइ कुलोको नहर बगाएपछि स्थानीयवासीले माथिल्लो खेतमा १४ वर्षदेखि धानखेती लगाउन नपाएका हुन् ।
सिँचाइ कुलो मर्मत भएपछि अहिले स्थानीय किसानले धानखेती गर्न पाउने भएका छन् । डेढ दशकभन्दा अघिसम्म धानखेती गर्न नपाएका रजातोलीवासीले यस वर्ष सहज रुपमा रोपाइँ गर्न पाउने भएपछि निकै खुशी देखिएका छन् ।
यसभन्दा पहिलेका वर्षमा सबै खेतमा कोदोमात्र लगाउने र धान रोपाइँ हुन नसकेको स्थानीयवासी देवराज पाध्यायले बताए ।
असारमा धान रोप्न पाउने भएपछि सबै किसानले धानको बेर्नासमेत लगाइसकेका बडिमालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए ।
जिल्ला सिँचाइ सबडिभिजन कार्यालय बाजुराको आयोजनामा सिँचाइ कुलो मर्मत गरेपछि यो वर्षदेखि धान रोप्ने तयारीमा स्थानीयवासी रहेको वडाध्यक्ष पाध्यायले बताए ।
जिल्ला सिँचाइ सबडिभिजन कार्यालय बाजुराको रु एक करोड ६० लाख ६७ हजारको लगानीमा निर्माण गरेपछि रजातोलीका १०२ घर परिवारभन्दा बढी परिवार लाभान्वित हुने जिल्ला सिँचाइ सबडिभिजन कार्यालयका प्रमुख छविराज जोशीले बताए ।
रजातोलीमा ६८० जनसंख्या छ । डेढ सय मिटर लामो पक्की सिँचाइ कुलो बनाइसकिएकाले यो वर्ष ७०० रोपनी जमिन सिँचाइ हुने भएको छ ।

तीन वर्षदेखि सञ्चालन गरिएको ऋषिमाण्डौ सिँचाइ योजना सम्पन्न हुने चरणमा पुगेकाले यो असारमा नै रोपाइँ गर्न सकिने कार्यालय प्रमुख जोशीको भनाइ छ ।

योजनाको पूरा काम गर्न यो वर्ष नसकिए पनि खेतमा पानी पुग्ने गरी काम गराइएको ऋषिमाण्डौ सिँचाइ योजनाका अध्यक्ष धनलाल पाध्यायले बताए ।
बडिमालिका–७ मा मात्र तीन वटा सिँचाइ योजनामा सञ्चालनमा रहेको सिँचाइ कार्यालय बाजुराले बताएको छ ।
रजातोलीको माथिल्लो खेतमा धेरै उब्जाउ हुने भए पनि सिँचाइ नहुँदा हिउँदे बालीसमेत सुक्ने गरेको थियो । सिँचाइ सुविधा भएपछि हिउँदेबाली पनि राम्रो हुने रजातोलीका किसानको भनाइ छ ।
सिँचाइ कुलो शुरु भएपछि तरकारीखेती पनि राम्रो हुने जिल्ला सिँचाइ कार्यालय बाजुराले जनाएको छ ।

सडक सञ्जाल पुगिसकेको हुनाले यहाँ अन्य खेतीभन्दा पनि तरकारीखेतीतिर किसानलाई आकर्षक गर्न आवश्यक रहेको छ ।
खडेरीले प्रभावित बन्दै गएको उत्तरी भेगको बूढीनन्दा नगरपालिकाको स्यालकाटिया खोलादेखि वीरसैनसम्मको सिँचाइ कुलो, स्वामीकार्तिक गाउँपालिकाको साप्पाटामा समेत सिँचाइ कुलो निर्माण गरिएको सिँचाइ सबडिभिजन कार्यालयका प्रमुख छविराज जोशीले जानकारी दिए ।