देश

नियम विपरीत सवारी चलाउनेको संख्या बढ्दो

तुलसीपुर । दाङ तुलसीपुर क्षेत्रमा ट्राफिक नियम विपरीत सवारी साधन चलाउनेको संख्या बढ्दो छ ।

चालु आर्थिक वर्षको पहिलो १० महिनामा ट्राफिक नियम विपरीत चलाएका सात हजार ६९२ सवारी साधनलाई कारबाही गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तीमध्ये सबैभन्दा बढी कारबाहीमा परेका सवारी साधनमा मोटरसाइकल, बस, ट्याम्पो कार तथा जिप छन् ।

ट्राफिक नियम विपरीत चलाएका सवारी साधनलाई कारबाही गर्दा रु ४३ लाख २३ हजार ५०० राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख विवेक महराले जानकारी दिए ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका अनुसार, आर्थिक वर्ष २०७३÷७४ मा आठ हजार ४१६ वटा सवारी साधन कारबाहीमा परेका थिए । कारबाहीबाट रु ४७ लाख ३८ हजार राजश्व संकलन भएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०७२÷७३ मा नियमविपरीत सञ्चालन भएका आठ हजार १५१ सवारी साधनलाई कारबाही गर्दा रु २४ लाख राजश्व संकलन भएको थियो ।

सवारी चलाउँदा चालकको अनिवार्य लाइसेन्स हुनुपर्ने, सवारी साधनको कागजपत्र साथमा राख्नुपर्ने, मापसे गरी सवारी साधन चलाउन नहुने, क्षमता भन्दा बढी यात्रु राख्न नहुने लगायतका कुरामा ध्यान दिनुपर्ने ट्राफिक प्रहरीले जनाएको छ ।