राजनीति

मूल्यवृद्धिको विरोधमा नेबिसंघ उत्रियो आयल निगम घेराउ अभियानमा

काठमाडौँ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेविसंघले आज एक घण्टा बबरमहलस्थित निगम कार्यालयमा नारावाजी र घेराउ गरेको हो ।

नेवि संघका नेता दीपक भट्टराईले आयल निगमले कमिसनका लागि पटकपटक मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको भन्दै नेविसंघ मूल्यवृद्धिको विरोधमा उत्रिएको बताए । “आयल निगम कमिसनमा होइन पारदर्शी रुपमा चल्नुप¥यो,”–उनले भने ।

नेवि संघका महामन्त्री कुन्दनराज काफ्लेले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

यसैबीच नेविसंघले आजै नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईलाई ज्ञापनपत्र समेत बुझाएको छ । मनलाग्दी रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै ध्यानाकर्षण गरेको हो ।

ज्ञापनपत्र बुझ्दै नायब कार्यकारी निर्देशक भट्टराईले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यवृद्धिअनुसार नै मूल्य समायोजन गरेको बताए ।