आर्थिक

देशको अर्थतन्त्रबारे आयो डरलाग्दो खबर

काठमाडौं । देशको अर्थतन्त्रको अवस्था खतराजनक अवस्थामा पुगेको छ । सरकारको चालु खाता र मुलुकको शोधनान्तर स्थिति दुवै घाटामागएपछि यस्तो अवस्था सिर्जना हुन लागेको हो । अघिल्लो आर्थिक वर्षदेखि घाटामा रहेको चालु खाता यस आवमा आइपुग्दा डरलाग्दो घाटातर्फ उन्मुख भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु खाताको घाटा बढ्दै जाँदा बाह्य क्षेत्र सन्तुलनमा समेत चुनौती थपिएको गत चैतसम्ममा १ खर्ब ७१ अर्ब ६४ करोड रुपैयाँले घाटामा गएको छ ।

वस्तु तथा सेवा व्यापारको सन्तुलन मापक चालु खाता घाटामा गएसँगै समग्र शोधनान्तर रू. १४ अर्ब ६० करोडले घाटामा रहेको समेत बैंकले जनाएको छ । गत आवको यसै अवधिमा यस्तो शोधनान्तर रू. ५० अर्ब ६० करोडले बचतमा थियो । आयात अधिक भएको र त्यस अनुपातमा निर्यात वृद्धि हुन नसक्दा चालु खाता दबाबमा परेको हो ।

राष्ट्र बैंकद्धारा जारी प्रतिवेदनले समग्रमा मुलुक भित्रिने भन्दा बाहिरिने रकम बढी भएकाले शोधनान्तरमा चाप परेको निष्कर्ष निकालेको छ । त्यस्तै, चालु आवको चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ३ प्रतिशत छ । गतवर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ३ दशमलव ८ प्रतिशत मात्रै थियो । मुद्रास्फीति बढ्दा महंगी समेत बढ्दै गएको छ ।

बिहीबार राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको नौमहिने समष्टिगत आर्थिक प्रतिवेदनले सो तथ्य औंल्याएको हो । अघिल्लो वर्षको सोही अवधिमा सरकारको चालु खाता १० अर्ब ३४ करोड रुपैयाँले मात्रै घाटामा थियो । चालु खातामा घाटा चुलिँदै जानु अर्थतन्त्रका लागस ‘जोखिमपूर्ण’ हुने अर्थविद्हरू बताउँछन् ।