समाचार

वन्यजन्तु जोगाउन ‘ताल मर्मत र घाँसेमैदान व्यवस्थापन’

रत्ननगर, चितवन । पूर्वी चितवनको पर्यटकीय क्षेत्र कुमरोजमा वन्यजन्तुको वासस्थान जोगाउन तालतलैया मर्मत र घाँसे मैदान व्यवस्थापनको काम शुरु भएको छ ।

गर्मी बढेसँगै वनजंगल सुख्खा हुने र तालतलैया सुक्ने हुँदा वन्यजन्तु प्रभावित हुनसक्ने भएकाले तालतलैयाको मर्मत गरी पानीको व्यवस्थापन गर्न थालिएको कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए ।

कुमरोज मध्यवर्ती सामुदायिक वनमा दुर्लभ एकसिंगे गैँडा, बाघ, भालु, चित्तल, जरायोलगायत दुर्लभ वन्यजन्तुको वासस्थान छ । तालतलैया, घोल र घाँसे मैदान भएन भने वन्यजन्तुले वासस्थान फेर्ने भएकाले तालतलैया संरक्षण र घाँसेमैदान व्यवस्थापनमा ध्यान दिइएको सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङ बताउँछन् ।

यसका लागि वनको आन्तरिक स्रोतबाट रु पाँच लाख बजेट विनियोजन गरिएको छ । विगतमा तालतलैया सुकेका बेला यहाँ कृत्रिम ताल बनाएर वन्यजन्तुको वासस्थान संरक्षण गरिएको थियो । अहिले यस्तो अवस्था नआओस् भनेर राप्ती नदीबाट पानी ल्याएर सिमसार क्षेत्र जोगाउने गरिएको छ ।

सामुदायिक वनका अनुसार मुख्यगरी यहाँका आदिवासी जनजाति समुदायको नाममा बनाइएको दराइबोटे ताललाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न आवश्यक कामसमेत शुरु भएको छ ।

खैरहनी नगरपालिकाको रु १० लाख आर्थिक सहयोगमा जिन्दगानीघाटमा रहेको तालको संरक्षण तथा बीचमा विश्रामस्थल निर्माण गरी डुंगा सञ्चालन गर्न लागिएको वनका कार्यालय सचिव नेपाल बताउँछन् ।

माछापालनसँगै यहाँ आएका पर्यटकलाई डुंगा सयर गराउन सके पर्यटन विकास हुने विश्वास स्थानीयको छ । साथसाथै वन्यजन्तुका लागिसमेत पानीको मुख्यस्रोतका रुपमा यो ताल रहेको छ ।

कुमरोज वनमा अहिले पर्यटकका लागि हात्ती सफारी र जिप सफारी हुँदै आएको छ भने यहाँको राप्ती नदीमा डुंगा सफारीसमेत शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर प्रमुख अभिनय पाठक कुमरोजमा वन्यजन्तुको राम्रो वासस्थान रहेकाले संरक्षणमा स्थानीयको सहयोग रहेको बताउँछन् ।