पु.समाचार

कम्युनिष्ट पार्टीबीचको एकता लोकतन्त्रवादी पार्टीकालागि पनि सन्देश

वासुदेव पौडेल/पोखरा । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकता लोकतन्त्रवादी पार्टीका लागि पनि राम्रो सन्देश हुनेमा जोड दिइएको छ ।

बिहीबार भएको दुई पार्टीको एकतासँगै नेपाली राजनीतिमा चासो र चर्चा बढिरहेको अवस्थामा विभिन्न क्षेत्रमा सम्बद्ध व्यक्तिहरुले यतिखेर एकतालाई नेपाली राजनीतिको स्थायित्व र विकासका लागि महत्वपूर्ण प्रयासको थालनीका रुपमा चित्रित गरेका छन् ।

धेरै संख्यामा दल रहने क्रमले नेपालको राजनीतिक स्थायित्व र विकासलाई प्रत्यक्ष प्रभावित गरेको बताउने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सकारात्मक कदम भएको बताउछन् ।

“राजनीतिक स्थिरताका लागि समान किसिमका राजनीतिक आस्था एवं विचार मिल्न सक्ने दलहरू एक बन्नु अपरिहार्य छ,” उनले भने, “नेपाल जस्तो विकासोन्मुख देशमा दुई प्रमुख राजनीतिक दल मात्र हुने हो भने विकासको गतिले फड्को मार्न सक्ने देखिन्छ ।”

एमाले र माओवादी केन्द्रबीचको एकता लोकतन्त्रवादी पार्टीका लागि पनि गतिलो सन्देश भएको बताउँदै उनले राज्यको हितका लागि पनि आस्था एवं विचार मिल्ने दलहरू एक ठाउँमा आउनुपर्ने बताए ।

लामो समयको राजनीतिक अस्थिरताका कारण देश पछि परिरहेको अवस्थामा भएको पार्टी एकीकरण एउटा महत्वपूर्ण ऐतिहासिक घटना भएको वामपन्थी नेता सोमनाथ अधिकारी ‘प्यासी’ले बताए ।

“यो एकता सामान्य होइन, राष्ट्र र जनताको आवश्यकताअनुसार भएको हो,” उनले भने, “एकतासँगै यो राष्ट्रको समृद्धि र विकासका लागि जवाफदेही शक्तिका रुपमा अघि बढ्नेछ ।”

नेपाली जनताको लामो समयको संघर्षको प्रतिफलस्वरुप २०४६ सालमा प्रजातन्त्र आए पनि त्यसयता दलहरूको संख्या साँघुरिँदै जानुभन्दा पनि बढ्दै जाने क्रमले नेपालको समग्र राजनीति एवं यहाँको विकासलाई निरन्तर प्रभावित पारिरहेको प्राध्यापक डा गिरीधारी दाहाल बताउछन् ।

“समय धेरै अघि बढिसकेको अवस्थामा प्रमुख दुई वामपन्थी शक्ति एक बन्नु नेपाली जनता र राष्ट्रका लागि अत्यन्त सुखद् पक्ष हो,” उनले भने, “यो एकता जनताको आवाज हो, देशको राजनीतिक स्थिरता र विकासका लागि महत्वपूर्ण शुरुवात पनि हो ।”

धेरै संख्यामा विभक्त दलबाट देश केवल अस्थिर बन्ने बताउँदै उनले एमाले र माओवादी केन्द्रबीचको एकता लोकतन्त्रवादी पार्टीका लागि पनि प्रेरक बन्ने विश्वास व्यक्त गरे ।

एमाले र माओवादी केन्द्रबीचको एकताले देशको समग्र समृद्धि र विकासमा दीर्घकालीन प्रभाव राख्ने अर्का वाम बुद्धिजीवी झलकपाणि तिवारी बताउछन् । “राज्यको राजनीतिक स्थिरता एवं सुधारात्मक गतिविधिलाई अघि बढाउने यसले विशिष्ट प्रभाव राख्नेछ,” उनले भने, “एकता दलहरूबीचको आवश्यकता मात्र नभएर राष्ट्र र जनताको आवश्यकता हो ।”

समाजवादी क्रान्तिको समग्र प्रक्रियालाई अघि बढाउनका लागि एकताले महत्वपूर्ण भूमिका खेल्नेमा उनले जोड दिए ।