देश

घाइतेको मृत्यु, गोली प्रहारमा छोराकै संलग्नताको आशंका

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–५ स्थित मणिग्राममा बुधबार बेलुका गोली प्रहारबाट घाइते व्यक्तिको बिहीबार मृत्यु भएको छ ।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइसेन्समा उपचार गराइरहेका घाइते रामकेश धवलको बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।

प्रहरीले आक्रमणको घटनामा धवलकै छोराको संग्लनता हुनसक्ने आशंकामा अनुसन्धान सुरु गरेको छ ।

गोली प्रहार भएको बुधबार दिउँसो फोटो माग्ने निहुँमा छोरा सन्दीप धवल एक अपरिचित युवकसँगै बाबुले काम गर्ने ठाउँमा आएको र साँझ आक्रमण हुनुले निजकै संलग्नता अनुमान गरिएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।

निज सन्दीप मृतक धवलका जेठी श्रीमतीका एकमात्र छोरा हुन् । धवलले कान्छी श्रीमती विवाह गरेपछि जेठी श्रीमती भारतको सिद्धार्थनगर नौतनहवानजिकै आफन्तकोमा र छोरा सन्दीप भारतको गोरखपुरनजिकै पिपिगन्ज भन्ने ठाउँमा मावलीको घरमा बस्दै आएका थिए ।

बुधबार मणिग्राममा बाबुसँगको भेटपछि फर्किएर भारतस्थित मामाघर पुगे पनि हाल सम्पर्कविहीन रहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।