देश

सिरहाका ४४ बेपत्तासम्बन्धी निवेदनमा छानविन शुरु

लहान । सरकारद्वारा गठित बेपत्ता छानविन आयोगमा सिरहाबाट परेको ४४ वटा निवेदनमाथि आयोगले छानविन शुरु गरेको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानविनका लागि गठित आयोगले आज जिल्लाका सरोकारवालाहरुसँग आयोजित अन्तरक्रियामा आयुक्त प्रा डा विष्णु पाठकले बेपत्ता भएका व्यक्तिहरुको पहिचानका लागि ४४ वटा निवेदन परेको र त्यसमाथि छानविन शुरु गरिएको जानकारी दिए ।

निवेदन परेकामध्ये १७ जनाको जाँच भइसकेको र बाँकीको अध्ययनका लागि आयोगले घर घर पुगेर प्रतिवेदन बनाउने कार्य जारी राखेको जानकारी दिँदै उनले पीडित परिवार र सरोकारवालासँग प्रत्यक्ष भेटेर सत्यतथ्य पत्ता लगाउने कार्य भइरहेको बताए ।

बेपत्ता पारिएकाका परिवारबाट परेको निवेदनका आधारमा हालसम्म २१ जिल्लाको छानविन सकिन लागेको र बाँकी जिल्लाको अगामी माघ महिनासम्म सकिने आयुक्त पाठकको भनाइ थियो । छानविनपछि कारवाहीका लागि सरकारलाई प्रतिवेदन बुझाइने उनले बताए ।

अधिवक्ता जुद्धबहादुर आले, इन्सेकका देवराज पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवलगायतले बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गरी पीडित परिवारले न्याय पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।