स्वास्थ्य

अझैँ किन बनेन जल ऐन ?

ललितपुर । नदीले उत्पन्न गर्ने प्रकोपका कारण बर्षेनी धेरै जनाको मृत्यु भए पनि अहिलेसम्म जल ऐन बन्न सकेको छैन ।

ऐन नहुँदा नदीको कति दूरीमा बस्ती हुने भन्ने यकिन नभएको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उप–महानिर्देशक प्रदीप थापा बताउनुहुन्छ । विभागले गत वर्ष ऐनको मस्यौदा बनाएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पठाएको थियो ।

मस्यौदा अर्थ मन्त्रालय, कानून मन्त्रालय र गृह मन्त्रालयमध्ये कहिले कहाँ कहिले कहाँ पुगिरहेको छ । ऐन पास भए खोलाको धेरै नजिक बस्ती नहुने हुँदा मानवीय र भौतिक क्षति कम हुनेछ । उनी भन्छन्, “सडकबाट यति दूरीमा घर बनाउने भने जस्तै नदीको पनि यति दूरीमा मात्रै घर बनाउन पाइने भन्ने ऐनले प्रस्ट गर्नेछ ।” यसले गर्दा स्थानीयवासी र सरकार दुवैलाई काम गर्न सहज हुनेछ ।

ऐन नहुँदा नदी र त्यस आसपासका क्षेत्रमा मानवीय अतिक्रमण बढेको छ । नदीबाट बालुबा झिक्दा कतिपय स्थानमा खोला र खेतको तह बराबरी बनेको छ । पहाडी क्षेत्रमा रूख–बिरुवाको विनाश बढ्दा पहिरो जाने क्रम बढिरहेको छ । स्थानीय निकायले जथाभावी बाटो खन्दा पहिरोको जोखिम बढेको छ । उनी भन्छन्, “तर स्पष्ट कानून नहुँदा नियमन हुन सकेको छैन ।”