कृषि

एक रुपैयाँ किलोमा पनि बिकेन गोलभेँडा

कञ्चनपुर । ऋण लगानी गरेर लगाइएको गोलभेँडाले बजार नपाएपछि शुक्लाफाँटा नगरपालिका–३ का किसानले घाटा व्यहोरेका छन् ।
ऋण लगानी गरेर लगाइएको गोलभेँडा बजारमा रु एक प्रतिकिलोका दरले बिक्री हुन नसक्दा किसानले घाटा व्यहोरेका हुन् । रु ५० हजार ऋण गरेर गोलभेँडा रोपेका भरतबहादुर चौधरी रु १० हजारको मात्रै गोलभेँडा बिक्री भएको बताउछन् ।
“एक रुपैयाँमा बिक्री गर्न खोज्दासमेत बिक्री भएन,” उनले भने । गोलभेँडा खेतमा लटरम्म फलेको छ । खेतमै कुहिने अवस्था छ । आफ्नो खेतमा रु एक लाखभन्दा बढीको गोलभेँडा कुहिएको चौधरीले बताए ।
गोलभेँडा खेतीका लागि सहकारीबाट लिएको ऋण तिर्न अन्यत्रबाट व्यवस्था गर्नु परेको उनको भनाइ छ ।
गोलभेँडाले बजार नपाएपछि वसन्ती चौधरी मारमा पर्नुभएको छ । गतवर्ष गोलभेँडा खेतीबाट रु तीन लाखभन्दा बढी आम्दानी गर्नुभएका चौधरी यसवर्ष मुश्किलले रु ३० हजार मात्रै कमाई भएको बताउछन् । उनको रु दुई लाखभन्दा बढीको गोलभेँडा खेतमै कुहिएको छ ।
यहाँका किसानले लगाएको गोलभेँडा बिक्री नहँुदा रु पाँच लाखभन्दा बढीको घाटा भएको छ । शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी किसानलाई बजारको समस्या भएको बताउछन् ।
“तरकारी पर्याप्त मात्रामा उत्पादन भएको छ, बजार पाउन सकेको छैन,” उनले भने । भारतबाट आयात गरिने गोलभेँडाका कारण यहाँका किसानले वर्षेनी घाटा व्यहोर्नु परको छ ।
हावाहुरीबाट साठी लाखको क्षति
कञ्चनपुरमा चार दिनअघि आएको हावाहुरीबाट रु ६० लाख ४७ हजार बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका र कृष्णपुर नगरपालिका क्षेत्रमा बढी मात्रामा क्षति भएको छ ।
हावाहुरीका कारण घरमा आगलागी, छाना उडाउँदा र घर भत्किँदा बढी क्षति भएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । पुनर्वास नगरपालिका र लालझाँडी गाउँपालिकाको १६८ घरमा रु ३३ लाख ४६ हजार बराबरको क्षति भएको छ । कृष्णपुर नगरपालिकामा ३७ वटा घर, एक विद्यालय र एक चर्चमा गरी रु २१ लाख २५ हजारको क्षति भएको छ ।