शिक्षा

सामुदायिक विद्यालयसँग २७ बुँदे सम्झौता

भक्तपुर । सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागि सूर्यविनायक नगरपालिकाले यहाँका सामुदायिक विद्यालयहरुसँग २७ बुँदे कार्यसम्पादन सम्झौता गरेको छ ।

नगरपालिकाले आयोजना गरेको भेलामा बृहत् छलफल पछि नगर भित्रका ४० सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु र नगर प्रमुखबीच सम्झौता भएको हो ।

नगरपालिकाका प्रमुख वासुदेव थापाले विद्यालयको व्यवस्थापकीय सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग २७ बुँदे कार्यसम्पादन सम्झौता गरिएको बताउँदै संविधानले विद्यालय तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएपछि यो अधिकार कार्यान्वयनको शिलशिलामा सामुदायिक विद्यालयहरुमा खस्ँिकदै गएको शैक्षिक गुणस्तर सुधार्नका लागि अभियान शुरु गरेको बताए ।

उक्त नगरपालिकाभित्र नौ माध्यमिक र ३१ आधारभूत विद्यालय गरी ४० वटा सामुदायिक विद्यालय छन् । नगरपालिकाले सम्झौतामा प्रारम्भिक कक्षादेखि अंग्रेजी भाषाको माध्यमबाट पठनपाठन गर्ने, विद्यालय हाताभित्र शिक्षक तथा विद्यार्थीको सहभागितामा फूलबारी तथा करेसाबारीको व्यवस्था गरी स्वच्छ, मनोरम र हराभरा बनाउने रहेका छन् ।

त्यस्तै, विद्यालयले प्रत्येक असार मसान्तसम्म विद्यालय सुधार योजना पेश गर्नुपर्ने, तोकिएको घण्टीमा अनिवार्य पढाइ हुनुपर्ने, विद्यालयको शैक्षिक क्यालेण्डर बनाउनुपर्ने, अतिरिक्त कक्षा अनिवार्य सञ्चालन गर्नुपर्ने, धुलोरहित तथा बालमैत्री कक्षा कोठा हुनुपर्ने, खेल सामग्रीको व्यवस्था गर्नुपर्ने, उत्कृष्ट नतिजा ल्याउने विषयगत शिक्षकलाई समेत पुरस्कृत गर्ने, विद्यार्थीको प्रतिभा पहिचान गर्नेलगायत बुँदा समेटिएको छ ।

प्रदेश नं ३ का प्रदेश सदस्य शशीजंग थापा, नगरप्रमुख थापा, नगरपालिकाका सामाजिक समिति संयोजक किरण थापा, शिक्षा अधिकृत सविता दंगाल लगायतको रोहवरमा सो सम्झौता भएको हो ।