शिक्षा

तातोपानी कुण्डबाट शिक्षकलाई तलब

बेनी । प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीमा रहेको तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक÷शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ ।

म्याग्दी नदीको किनारमा रहेको कुण्डमा बिरामीले स्नान गरेबापत लिइने शुल्कले शिक्षकको तलब, भौतिक पूर्वाधारलगायत विभिन्न शैक्षिक गतिविधिमा खर्च गर्ने गरिएको हो ।

समुदायको सक्रियतामा स्थापना भएको विद्यालयमा आधारभूत र माध्यमिक तहका शिक्षकलाई वार्षिक रु १६ लाख तलब सुविधामा खर्च गर्ने गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । “तातोपानीको कमाइको ठूलो हिस्सा शैक्षिक क्षेत्रमा खर्च गर्ने गरिएको छ । गुणस्तरीय शिक्षाका लागि तलबबाहेक पनि खर्च गर्ने गरेका छौँ”, शाक्यले भने ।

उहाँले १–१० मा ३०५ जना विद्यार्थी अध्ययनरत विद्यालयमा निजी स्रोतका १० जना शिक्षकको तलबभत्तामा २०६६ सालदेखि निरन्तर कुण्डको सहयोगमा तलब खुवाउँदै आएको जानकारी दिए ।

हरेक वर्ष सरकारले तोकेको तलबभत्ताका साथै खेलकूद मैदान खरिदमा रु २३ लाख, भवन निर्माणमा समेत कुण्डले सहयोग गरेको प्रधानाध्यापक सुरतबहादुर बानियाँले बताए । “मावि तहमा सरकारी दरबन्दी छैन । कुण्डको सहयोगले नै अहिलेसम्म सहज भएको छ”, बानियाँले भने ।

“विद्यालयलाई तातोपानी कुण्ड बरदान सावित भएको छ”, प्रअ बानियाँले भने । भविष्यमा थप भौतिक पूर्वाधार विस्तार, दश जोड दुई कक्षा सञ्चालनलगायतका योजनामा समेत कुण्डबाट सहयोगको प्रतिबद्धता रहेको बताए । राक्से, तातोपानी, पखेर, सिमलचौरलगायत आसपासका क्षेत्रका विद्यार्थी अध्ययनरत विद्यालय जिल्ला सदरमुकाम बाहिर समुदायको आम्दानीले सञ्चालनमा रहेको नमूना विद्यालयको रुपमा समेत चिनिन्छ ।

जमिनमुनिबाट बिरेनूनको गन्धसहित ५० डिग्री तापक्रमको पानी संकलन गरिएको तलाउमा स्नान गरेर बाथ, चोटपटक लागेको, ग्यास्ट्रिक, गानोगोलालगायत विभिन्न रोगबाट ग्रसित नेपालका साथै भारत र जापानबाट समेत नियमित स्नान गर्न बिरामी तातोपानी कुण्डमा आउने गरेका छन् । यहाँ वर्षेनी २० हजार जनाले स्नान गर्ने गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।