राजनीति

बाबुरामका ट्वीटका ट्वीटः पार्टी एकता हुनै लाग्दा किन यसो भने ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बिहिबार पनि ट्वीट गर्दै प्रश्न गरेका छन् । भट्टराईले ट्वीट गर्दै आजैका दिन नेकपा एमाले र माओवादी केन्द्र विलयको घोषणाको अर्थ के भनेर प्रश्न गरेका हुन् ।

एमालेका तत्कालिन महासचिव मदन भण्डारी र कम्यसनिष्ट पार्टीका संगठक जीवराज आश्रितको २५ औं स्मृति दिवसका अवसरमा दुवै पार्टीबीच एकता घोषणा हुदै गर्दा ट्वीट मार्फत भट्टराइले प्रश्न सोधेका हुन् ।

उनले ट्विट गर्दै लेखेका छन्, ‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५ औं स्मृति दिवसमा हार्दिक श्रद्धासुमन । आजैका दिन एमाले–माके विलयको घोषणाको कुनै संकेतिक अर्थ ? प्रचण्डले जबजको विरुद्धमा जनयुद्ध गरेकोमा पश्चाताप पर्दै मदनपथ अंगीकार गरेको स्वीकारोक्ति हो ? प्रष्ट पारियोस् ।’

त्यसअघि उनले बुधबार साँझ यसै विषयमा ट्विट गर्दै भनेका थिए, ‘एमाले–माके एकता अन्ततः सम्पन्न हुन लागेकोमा दुवैलाई बधाई÷शुभकामना । तर केही अनुत्तरित प्रश्नः के बानरहरु पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ? गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुई हुन्छ । माइनस एकको मूल्य धेरै कि माइनस दुईको ? सर्वहारा अधिनायकत्व छोडेपछि कम्युनिस्ट नाममा मोह किन ?’

नेता भट्टराईले एमाले र माओवादीको एकता घोषणाबारे हिजो र आज गरी लगातार दुईटा ट्वीट गरेका छन् ।