समाचार

डोल्पामा ‘धामी र लामा’ले मदिरा नियन्त्रण गर्न सघाउँदै

दुनै, डोल्पा । जिल्लामा पछिल्लो समय धामी र लामाले मदिरा नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका छन् ।

संस्कार र धर्मका नाममा मदिराको प्रयोग बढ्दो क्रममा रहेको बेलामा गाउँगाउँमा धामी र लामाले मदिरा नियन्त्रण गर्न थालेका हुन् । गृह मन्त्रालयको लागूऔषध अपराध विशेष मदिरा नियन्त्रण र नियमन विशेष अभियान अन्तर्गत देशभरका ७७ वटै जिल्लामा कार्यान्वयन गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम भइरहेका छन् ।

डोल्पामा धामी र लामाले सहजैरुपमा मदिरा नियन्त्रण गरेको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताए । उनले भने “सरसफाइ, जातीय छुवाछूत तथा विभेद र मदिरा नियन्त्रणमा लामा र धामीले जनस्तरमा निकै प्रभावकारी काम गरेका छन्, धामी र लामाको कुरा सहजै स्वीकार गर्छन् नागरिकले ।”

हिन्दू धर्मकाले धामी र बौद्ध धर्मकाले लामालाई विश्वास गर्ने भएकाले धामी र लामाले भनेका सबै कुरा मान्ने गरेको धामी हरिबहादुर शाहीले जानकारी दिए । उनले भने, मदिरामात्रै होइन गलत काम गर्नेलाई सजग गराउन धर्मले काम गरेको छ, किनकी धामी र लामाका कुरा कसैले काट्न सक्दैन ।

डोल्पा जिल्लामा लागूऔषधका घटना शून्य रहेको तर मदिरा भने रोजीरोटी र संस्कारका रुपमा फस्टाउँदो अवस्थामा रहेको महिला सशक्तीकरण डोल्पाकी अगुवा उर्मिला विकले दाबी गरे । उनले भने, मदिराकै कारण डोल्पामा महिला हिंसा बढिराखेकाले सुरक्षा तथा नियमनमा विशेष ध्यान पुग्नुुपर्छ ।

डोल्पा जिल्लामा धर्म, संस्कार र रोजीरोटीका रुपमा मदिरा बिक्री वितरण हुने गरेको पाइएको छ । सबै क्षेत्रमा जोडेर घरेलु मदिराको उत्पादन र बिक्री वितरण हुने गरेको प्रहरीले दाबी गरेको छ ।

भ्रमात्मक, उत्तेजनात्मक र शिथिलात्मक गरी तीन प्रकारले मदिराको सेवन गरिने भएका कारण यसलाई सबै मिलेर रोक्न प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले सबैलाई अनुरोध गरेका छन् । गलत तरिकाबाट रोजीरोटी गर्ने कसैलाई छुट नभएकाले मदिरा ऐनअनुसार कारबाही गरेरै छोड्ने प्रहरी नायब उपरीक्षक शर्माको दाबी रहेको छ ।

घरेलु मदिरालाई जनस्तरसम्म सूचना प्रदान गरी विभिन्न चरणबाट नियन्त्रणमा जाने हिसाबले जिल्लामा लागूऔषध अपराध र मदिरा नियन्त्रणमा प्रशासनले कुनै पनि कसर बाँकी नराख्ने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

उनले भने, नागरिक समाज, महिला सञ्जाललगायत सबै नागरिकले सहयोग गर्नुस् गलत गर्नेलाई कारबाही गर्न प्रशासन डग्मगाउँदैन ।

सबै क्षेत्रबाट डोल्पा जिल्लामा मदिरा बढ्दो क्रममा रहेको भन्ने कुरालाई गलत सावित गर्ने भन्दै मदिरामुक्त जिल्ला बनाउने जिल्ला समन्वय समिति प्रमुख शेरबहादुर बुढाले प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार धर्म, संस्कार र रोजीरोटीका रुपमा मदिराको व्यवसाय गर्न नपाइने र मदिरामुक्त जिल्ला बनाउन सबैको भूमिका रहने भएकाले हरेक नागरिकको विशेष सहयोग रहने बताए ।

हरेक स्थानीय तह र जिल्ला सदरमुकाममा लागूऔषध र मदिराका कुनै पनि क्रियाकलाप हुन नदिने र नागरिकलाई मदिराको अनुभूति पनि गर्न नदिने समन्वय प्रमुख बुढाले दाबी गरे । उनले भने, “असम्भव भन्ने मुर्खको डायरीमा मात्र हुन्छ, हामी सज्जन नागरिकमा छैन, सबै मिलेर मदिरामुक्त जिल्ला बनाउँ ।”

मदिराले घरेलु हिंसा बढ्दो रहेपनि सुरक्षाकर्मी, महिला अधिकारकर्मी र नागरिकले विशेष भूमिका खेल्नुपर्ने नागरिक समाजका अगुवाको सुझाव छ ।