अन्तर्राष्ट्रिय

जर्मनीमा ठूलो परिवार संख्या न्यून बन्दैः जनगणना

बर्लिन, जर्मनी । जर्मनीमा धेरै बालबच्चा जन्माउने अभिभावक बिरलै पाइन थालेको हालैको जनगणनाले देखाएको छ ।

सन् २०१६ मा भएको जनगणनामा सात वा सोभन्दा बढी बालबालिका भएका परिवार सङ्ख्या जम्मा नौ हजार मात्र अर्थात् ०.१ प्रतिशत भएको पाइएको जर्मनीको केन्द्रीय तथ्याङ्क कार्यालयले बिहीबार जनाएको छ ।

पछिल्लो जनगणनामा जर्मन परिवारमा तीनदेखि चारसम्म बालबालिका जन्माउने प्रचलन १२ प्रतिशत परिवारमा रहेका पाइएको छ भने करिब १४ प्रतिशत परिवारमा तीन बालबालिका रहेको पाइएको छ ।

युवायुवतीले विवाह नगर्ने तर सँगसँगै बस्ने (लिभिङ टुगेदर) को प्रचलन सामान्य रहेपनि विवाह गरी तीन वा चार बालबालिका जन्माउने परिवार नै धेरै रहेको पाइएको छ । पछिल्लो समय यूरोपेली मुलुकका साथसाथै विश्वमा लिभिङ टुगेदरको प्रचलन बढेको बताइए पनि जनगणनामा यसको प्रभाव अझै न्यून नै देखिएको उक्त सरकारी तथ्याङ्कले देखाएको छ ।

सन् १९९३ मा संयुक्त राष्ट्रसंघ महासभाले घोषणा गरेको परिवारहरूको अन्तर्राष्ट्रिय दिवसमा विश्व समुदायलाई परिवारमा रहँदाको महत्वबारे प्रकाश पारिएको थियो ।