राजनीति

एमाले-माओवादी केन्द्र एकता घोषणाको तयारी अन्तिम चरणमा

काठमाडौँ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच आज साँझसम्ममा एकता घोषणा हुने भएको छ ।

केहिबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गर्नेछ । समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नेछ । निर्णयपछि आजै निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी दर्ता हुने पत्रकार सम्मेलनबाट घोषणा गरिनेछ ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान भएको निर्णायक वार्ताले एकतालाई अन्तिम रुप दिने सहमति गरेको थियो ।

एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औँ स्मृति दिवसका दिन आज पार्टी एकताको ऐतिहासिक घोषणा हुन लागेकामा दुवै दलका कार्यकर्तामा उत्साह देखिएको छ ।

दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, माक्र्सवादी—लेनीनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्नेलगायत विषयमा सहमति भइसकेको छ ।

एकता अन्तर्गत एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी छ । यस्तै, स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना सदस्य रहने लगभग सहमति भएको छ । माओबादी केन्द्रले ४५ प्रतिशत र एमालेले ५छ प्रतिशत पाउने सहमती भएको छ । एमाले अध्यक्ष ओली र माओबादी केन्द्रका अध्यक्ष दहाल दुबै सहअध्यक्ष रहने सहमती समेत भएको छ ।

गत असोज १७ गते भएको चुनावी गठबन्धनमा सामेल यी दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए ।