शिक्षा

विदेशीको सहयोगको भवन विद्यालयलाई

रामपुर, पाल्पा । कालिका आधारभूत विद्यालय, रामपुर नगरपालिका–४, देवीस्थान, पाल्पामा विदेशी नागरिकको सहयोगमा दुईतले चारकोठे पक्की भवन निर्माण भएको छ ।

जापानी संस्था ड्रिम कम ट्रयू नामक संस्थाको रु २४ लाख, रामपुर नगरपालिकाको रु चार लाख र वडा नं ४ को रु ५० हजार आर्थिक सहयोगमा भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाले बताए।

जापानी संस्था ड्रिम कम ट्रयू नामक संस्थाको आर्थिक सहयोगमा नवनिर्माण भवन विद्यालयलाई बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । नवनिर्मित भवनको संस्थाका हिडेयोकी सुजुकीले उद्घाटन गरेका छन् ।

उनले गाउँको विद्यालयमा भवन अभावमा पठनपाठनमा समस्या परेपछि भवन निर्माणमा सहयोग गरेको बताए । भवन उद्घाटनका अवसरमा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले शिक्षा बिना कुनै पनि ठाउँको विकास हुन नसक्ने बताए ।

कार्यक्रमकै अवसरमा जापानी समाजसेवी काजुमासा काकीमी (ओकेबाजे) ले विभिन्न शैक्षिक सामग्री विद्यालयलाई वितरण गरे । कार्यक्रममा विद्यालय भवन निर्माणमा सहयोग गर्ने व्यक्ति, संघ संस्थालाई सम्मानपत्रले सम्मान गरिएको शिक्षक रामबहादुर रानाले बताए ।