समाचार

‘सरकारले मातृभाषाका पत्रिकालाई लोककल्याणकारी विज्ञापन देओस्’

काठमाडौँ । मातृभाषा पत्रकारिताको विकासमा राज्यको सहयोगी भूमिका अपेक्षित रहेको सरोकारवालाहरुले बताएका छन् ।

नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघको संयोजनमा आज यहाँ आयोजित ‘मातृभाषा पत्रकारिता सम्मेलन’ मा वक्ताहरुबाट मुलुकभित्र प्रचलित विभिन्न मातृभाषाको उन्नयनका लागि मातृभाषा पत्रकारिता आवश्यक रहेको र यसको प्रवर्धनका लागि सरकारबाट उदार सहयोग हुनुपर्ने विचार व्यक्त भए ।

मातृभाषाको पत्रकारिता व्यावसायिक रुपले अघि बढ्न नसकेको, एक्लैले धान्न परेको र यसमा लाग्ने पत्रकारहरुको जीविकोपार्जन कठिन रहेको सन्दर्भमा राज्यद्वारा उनीहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराइनुपर्ने उनीहरुको माग थियो । मातृभाषाबाट प्रकाशित पत्रपत्रिकाका लागि बेग्लै निर्देशिका ल्याइनुपर्ने र वर्गीकरण पनि बेग्लै हुनुपर्ने उनीहरुको सुझाव छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मातृभाषा पत्रकारिता गर्ने सञ्चारकर्मीहरु विभाजित भए मातृभाषा पत्रकारिता आन्दोलन अगाडि बढ्न नसक्ने बताए । “मातृभाषा र लिपिको विकास र विस्तारका लागि काठमाडौँ महानगरपालिका सहयोग गर्न तयार छ,” उनले भने । प्रतिस्पर्धासँगै उत्कृष्ट काम गर्न पनि उनले सञ्चारकर्मीहरुलाई सुझाव दिए ।

महानगरपालिका प्रमुख शाक्यले काष्ठमण्डप, रानीपोखरी र धरहराको पुनःनिर्माणमा विभिन्न अड्चनहरु आएको बताउँदै ती अड्चन पन्छाएर अगाडि बढ्न आफू दृढ रहेको स्पष्ट पारे । “विकासका कामलाई विरोध गरेर अगाडि बढ्न सकिँदैन,” उनले भने ।

प्रदेश सांसद राजेश शाक्यले मातृभाषासम्बन्धी ऐन कानून बनाउँदा पत्रकारको रायसुझाव लिएर अगाडि बढ्ने बताए । सञ्चार नीति र समानुपातिक विज्ञापन वितरणमा मातृभाषामा सञ्चालित सञ्चार माध्यमले प्राथमिकता पाउनुपर्ने पनि उनले बताए ।

नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य कृष्ण अर्यालले मातृभाषाको संरक्षण गरे मात्र आफ्नो पहिचान रहने भन्दै मातृभाषा संरक्षणका निरन्तर खट्न पत्रकारहरुलाई आग्रह गरे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०का अध्यक्ष दण्ड गुरुङले मातृभाषासम्बन्धी ऐन कानून कमजोर भएको बताए ।

प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छा विन्दुले मातृभाषामा सञ्चालित सञ्चार माध्यमलाई सरकारले विशेष प्राथमिकता दिएको उल्लेख गरे ।

मातृभाषा पत्रकारिताको विकास र विस्तारका लागि स्थापना भएको नेवाः पत्रकार राष्ट्रिय दबूले मुलुकभर २५ जिल्लामा शाखा विस्तार गरेको दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले जानकारी दिए ।

उक्त सम्मेलनमा २६ मातृभाषामा पत्रकारिता गर्दैआएका सञ्चारकर्मीको सहभागिता रहेको थियो भने आठ मातृभाषाका प्रतिनिधि सञ्चारकर्मीहरुबाट पत्रकारिता, भाषा र लिपिबार कार्यपत्रहरु प्रस्तुत भएका थिए ।