समाचार

अन्यौलमा जनप्रतिनिधि र सेवाग्राही

ललितपुर । विद्यालयको नाममा रहेको रकम एउटा बैँकबाट अर्कोमा सार्नका लागि सिफारीस माग्न केही दिन पहिले प्रगति शिक्षा सदन माध्यामिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे जिल्ला शिक्षा कार्यालय पुगे ।

उक्त कार्यालयमा कार्यरत कर्मचारीले उनलाई अहिले कार्यालयले गर्ने काम महानगरपालिकाले गर्ने भन्दै महानगरापलिका जान भने । महानगरपालिकाबाटै शिक्षा कार्यालय पठाएकाले यहाँ आएको जानकारी दिंदै उनी भन्छन्, “सानो काममा पनि यता र उता गर्नुपर्दा हैरान हुन्छ ।”

प्राधनाध्यापक घिमिरे जस्तै धेरै सेवाग्राही अहिले सेवा लिनका लागि कता जाने भन्ने अन्र्यौलमा छन् । जिल्लामा रहेका विषयगत कार्यालयमा थोर बहुत कर्मचारी छन् । जिल्लाका अधिकांश कार्यालयका वार्षिक कार्यक्रम स्थानीय निकायमा गएका छन् भने बहुवर्षीय कार्यक्रम जिल्लाले नै सञ्चालन गरिरहेका छन् । कुन सेवा कहाँबाट लिने/दिने भन्नेमा सेवाग्राही र जनप्रतिनिधि दुबै अन्यौलमा छन् ।

स्थानीय निकायमा पनि कर्मचारी पर्याप्त नहुँदा कसरी काम गर्ने भन्ने अन्यौल छ । स्थानीय सरकार सञ्चालन ऐनमा जनप्रतिनिधि आएको छ महिनामा स्थानीय निकायलाई हस्तान्तरण गर्ने व्यवस्था छ । कर्मचारी पर्याप्त नहुँदा स्थानीय निकायको काम कसरी अघि बढाउने भन्ने समस्यामा छ ।
पुराना नगरपालिका भन्दा पनि नयाँ बनेका नगरपालिका र धेरै गाउँपालिकाले कर्मचारी अभाव भोगिरहेका छन् । कतिपय निकाय एक÷दुई जना कर्मचारीका भरमा चलेका छन् । कतिपयमा प्रशासकीय अधिकृत नै नभएको जनप्रतिनिधिको गुनासो छ ।

रामेछापस्थित खाँडादेवी गाउँपालिकामा अहिले दुई जना कर्मचारी छन् । कर्मचारी नजाँदा दैनिक कार्यसम्पादनमा समस्या रहेको गाविस अध्यक्ष प्रेमबहादुर तामाङको भनाइ छ । जिल्लाका विषयगत कार्यालयले अझैसम्म धेरै खालका जिम्मेवारी हस्तान्तरण गर्न बाँकी छ । उनी भन्छन्, “यसले गर्दा सेवाग्राही समेत अन्यौलमा छन् ।”

माध्यामिक शिक्षासम्म स्थानीय निकायको जिम्मेवारी भनिए पनि गाउँपालिकामा एकजना समेत शिक्षाका कर्मचारी नभएको अध्यक्ष तामाङ बताउँछन् । उनी भन्छन्, “शाखा प्रमुख नै नुहँुदा हामीलाई कठीनाई भएको छ ।”

काभ्रेपलाञ्चोकस्थित मण्डन–देउपुर नगरापलिकाका प्रमुख टोकबहादुर वाइवा अझैसम्म स्थानीय निकायले अधिकार नपाएको बताउँछन् । उनी भन्छन्, “रुख काट्नका लागि जिल्ला वन कार्यालयमा नै जानुपर्ने अवस्था छ ।”

रामेछापस्थित लिँखु गाउँपालिकाको उपप्रमुख दिपशिखा दाहाल स्थानीय निकायमा कर्मचारी अपर्याप्त हुँदा पाएको जिम्मेवारी पूरा गर्न गारो भएको बताउँछन् । विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय निकायको हो । उनी भन्छन्, “शिक्षाका एकजना समेत कर्मचारी नहुँदा पनि हामीले काम गरिरहेका छौं ।”

दोलखास्थित कालिञ्चोक गाउँपालिकाको उपप्रमुख कालिका पाठक गाउँपालिकामा कर्मचारी अभाव रहेको बताउँछन् । उनी भन्छन्, “प्रशासकीय अधिकृत समेत नुहुँदा पनि आफूहरुले ने काम गर्नुपर्ने अवस्था छ ।”

नयाँ बनेका नगरपालिकामा भन्दा पुराना नगरपालिकामा कर्मचारीको समस्या कम छ । क्षेत्रफल थपिएका वा पहिले नगरपालिकाबाट अहिले उपमहानगरापलिका र महानगरपालिकामा बनेकालाई भने कर्मचारी अपुग छ । दोलखास्थित भिमेश्वर नगरापलिकाका प्रमुख भाष्कर केसी पुराना नगरपालिका भन्दा नयाँ बनेका नगरपालिकामा समस्या कम भएको बताउँछन् । उनी भन्छन्, “हाम्रो नगरापलिकामा कर्मचारी पर्याप्त नभए पनि काम चलेकै छ ।”