समाचार

स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन माग

काठमाडौँ । निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनले निजामती कर्मचारीका लागि ल्याइएको स्वेच्छिक अवकास प्रक्रिया अघि बढाउन माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले रोकेको अवकाश प्रक्रिया तत्काल अघि बढाउन माग गरेका हुन् ।

अघिल्लो सरकारले ल्याएको स्वेच्छिक अवकाश व्यवस्था वर्तमान सरकारले खर्चिलो र अनुभवी कर्मचारी अवकाश लिने भन्दै रोकेको छ ।

अध्यक्ष ढकालले अवकासका लागि राजीनामा दिएर बसेका कर्मचारीलाई पुनः काममा पठाउन समस्या हुने भएकाले अवकाशको प्रक्रिया थाल्नुपर्ने बताए । ‘‘एउटा सरकारले ल्याएको अवकाशलाई अहिले अर्को सरकारले रोकेको छ,’’ उनले भने, ‘‘एउटाले बनाएको कानून अर्कोले परिवर्तन गर्न पाइँदैन, अवकाशका लागि निवेदन दिएका कर्मचारीलाई प्रक्रिया पु¥याई अवकाश गर्नुपर्दछ ।’’

चार सचिवसहित करीब नौ हजार ६७१ जना कर्मचारीले अवकाशका लागि निवेदन दिएका छन् ।

यस्तै अध्यक्ष ढकालले समायोजन गर्दा कर्मचारीको भावनाअनुरुप गर्नुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा युनियनका उपाध्यक्ष भोलानाथ पोखरेलले राजीनामा दिएका कर्मचारीलाई अवकाश दिएर नयाँ कर्मचारी राख्नुपर्ने बताए । उनले राजीनामा दिएका कर्मचारीको काम गर्ने इच्छा नहुने भएकाले अवकाश दिनुपर्ने बताए ।

यस्तै, कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष केदारप्रसाद देवकोटाले सरकारले कर्मचारी खटाउन नसक्दा जनताको काम प्रभावित भइरहेको भन्दै विधि प्रक्रियाले कर्मचारी खटाएमा जाने बताए ।

नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष गोपाल पोखरेलले समायोजन ऐनअनुसार नै स्थायी रुपमा कर्मचारीलाई खटाउनुपर्ने बताए ।

यस्तै, आधिकारिक ट्रेड युनियनले तलब भत्ताको पुनरावलोकन हुनुपर्नेसमेत माग राखेका छन् । अहिलेको बढ्दो महँगीका कारणले तलबले जीवन धान्नमा समस्या परेकाले तलब बढाउनुपर्ने माग आधिकारिक ट्रेड युनियनको छ ।