पर्यटन/संस्कृति

टोखालाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरिने

काठमाडौँ । टोखा नगरपालिकाका धार्मिक तथा ऐतिहासिकस्थललाई पर्यकीय स्थलको रुपमा विकास गरिने भएको छ ।

टोखा नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरपालिकाभित्रका धार्मिक स्थललाई पर्यटकीस्थल बनाउने गरी गुरुयोजना तयार गरेको जानकारी दिंदै नगर उपप्रमुख ज्ञानमाया डंगोलले टोखाभित्रका सपनातीर्थ, चण्डेश्वरी, तलेजु, इन्द्रायणी, सरस्वती, बौडेश्वर, थनेलाक्षी, कोनेलाक्षी, धापासी, वसुन्धरा, झोर महांकाल र गोँगबु क्षेत्रलाई गुरुयोजनामा समेटिएको छ भने ।

“चण्डेश्वरीदेखि शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसम्म पदमार्ग निर्माण गर्ने गरी गुरुयोजना पनि तयार गरेका छौँ,”–उनले भने ।
नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरस्वती गहनापोखरी, गणेशपोखरी र सपनतीर्थलाई संरक्षण गरी स्वदेशी तथा विदेशी पर्यटकलाई भित्र्याउने कार्ययोजना समेत बनाएको छ ।
झोर महाकांलमा रहेको वौडेश्वर झरनालाई पर्यटकीय रुपमा विकास गर्न नगरपालिकाले सरकारसँग रु २५ करोड माग गर्ने भएको छ ।पच्चिस हजार ५६१ घरधुरी रहेको उक्त नगरपालिकाको जनसंख्या झण्डै एक लाख छ ।

टोखालाई नमूना नगरपालिका बनाउन आर्थिक वर्ष २०७५/७६ मा प्रत्येक वडामा रु एक करोड ४० लाख बजेट विनियोजन गर्ने गरी कार्ययोजना बनाइएको छ भन्दै उपप्रमुख डंगोलले एघार वटा ११ वडा रहेको सो नगरपालिकाका लागि गत आर्थिक वर्ष रु २९ करोड ५१ लाख बजेट विनियोजन भएकामा रु १२ करोड राजश्व उठेको उनले जानकारी दिए ।