पर्यटन/संस्कृति

मराङको हरिहर मन्दिरको जीर्णोद्धार

बाबियाचौर, म्याग्दी । धौलागिरि गाउँपालिका– ६, मराङको बेँशीमा रहेको धार्मिक महत्वको हरिहर मन्दिरको जीर्णोद्धार गरिएको छ । गाउँपालिका र वडाको आर्थिक सहयोगमा स्थानीयवासीले मन्दिरको मर्मत सम्भार गरेर जीर्णोद्धार गरेका हुन् । वडा कार्यालयको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको रु चार लाख र स्थानीयवासीको रु ५० हजार बराबरको श्रमदानमा मन्दिर जीर्णोद्धार गरी धार्मिक विधिअनुसार शिव मूर्ति र शिवलिंगको प्रतिष्ठापन गरिएको उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण उपाध्यायले बताए ।

कच्ची अवस्थामा रहेको मन्दिरको पर्खाललाई प्लास्टर गर्नुका साथै एकतला थप गरिएको छ । काठको खाँबो हटाएर सिमेन्टको पक्की पिल्लर बनाइएको छ । मन्दिरको बाहिरी भागमा पिसिसी ढलान गरिएको छ । विसं २०५० मा निर्माण भएको मन्दिर जीर्ण भएकाले मर्मत गरिएको वडाध्यक्ष राजाराम सुवेदीले बताए ।

हिन्दू धर्मावलम्बीका भगवान् शिवको मूर्ति रहेको मन्दिरमा बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तीज, रामनवमी, अक्षय तृतीया, कृष्ण जन्माष्टमी, शिवरात्रि, साउन पूर्णिमालगायतका पर्वमा विशेष पूजाआजा हुनेगर्छ ।

नियमितरुपमा दैनिक नित्य पूजा गरिने मन्दिरमा पूजाआजा र दर्शन गरेमा पाप नाश भई पुण्य मिल्ने पुजारी तारानाथ उपाध्यायले बताए । मन्दिर परिसरको घेराबार र नदी नियन्त्रणको समेत आवश्यकता रहेको छ ।