देश

देशभर मानव मलमूत्रीय फोहरमैला व्यवस्थापन अभियान सञ्चालन हुने

कठमाडौं । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोसाईटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स(सोफेन)को अग्रसरतामा खानेपानी तथा ढल निकास विभाग र नेपाल इञ्जिनियर्स एशोसियनको सक्रिय सहभागितामा देशभर मानव मलमूत्रीय फोहरमैला व्यवस्थापन अभियान सञ्चालन हुने भएको छ ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा तीनै संस्थाका प्रमुखहरुले यसको जानकारी दिएका हुन् ।

गत महिना चैत्र २७ देखि २९ सम्म राजधानीमा आयोजित जल, वातावरण र जलवायु परिवर्तन ज्ञानको आदान प्रदान र साझेदारी विषयक अन्तराष्ट्रिय सम्मेलनले पारित गरेका संकल्प र तिनको कार्यान्वयनका सन्दर्भमा जानकारी दिने उद्देश्यले सो पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

पत्रकार सम्मोलनमा सोफेनका अध्यक्ष ई। रामदीप साहले सम्मेलनबाट पारित संकल्पहरु नेपालको सन्दर्भमा निकै सान्दर्भिक भएको बताउदै तिनको कार्यान्वयनको सिलसिलामा छिट्टै स्थानीय तहमा सरसफाईको क्षेत्रमा कार्यरत इञ्जिनियर र प्राविधिकहरुलाई मानव मलमूत्रीय फोहरमैला व्यवस्थापनका चुनौति र सरल एवम् वैज्ञानिक उपायका बारेमा जानकारी दिने उद्देश्यले एक राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिने बताए । उनले सम्मेलनका संकल्प सहितका सन्देश तथा जल,वातावरण र जलवायु परिवर्तनका स्थानीय मुद्दाहरुको समाधानका लागि राष्ट्र व्यापी अभियान सञ्चालन गरिने पनि जानकारी दिए ।

अध्यक्ष साहका अनुसार यस अभियान अन्तरगत पहिलो चरणमा नगरपालिकाको नेतृत्व र सरसफाईको क्षेत्रमा कार्यरत प्राविधिकहरुलाई जागरुक गरिनेछ । यसको लागि मानव मल—मूत्रीय फोहरमैलाको व्यवस्थापनका लागि आवश्यक ज्ञान र अनुभवको आदानप्रदान,जनचेतना अभिबृद्धि तथा नीतिगत,संस्थागत,नियामक खाका सम्बन्धी जानकारी दिने र सरोकारवालाको राय पनि लिने उद्देश्यले ७ वटै प्रदेशका नगरपालिका प्रमुखहरु तथा संबन्धित उपभोक्ता समितिका अध्यक्ष एवम् सरोकार वालाहरुको उपस्थितिमा एक दिवसीय कार्यशाला गोष्ठी आयोजना गरिदैछ ।

त्यस्तै गरी नगरपालिकाका इञ्जिनियर÷प्राविधिक, उपभोक्ता समितिका इञ्जिनियर तथा सरोकारवाला संस्थाहरु मध्येबाट १०० जना इञ्जिनियर र प्राविधिकहरुको ३ दिने मानव मल—मूत्रीय व्यवस्थापन एवम शहरी सरसफाईको क्षेत्रमा तालिम दिने कार्यक्रम तय भएको छ ।
यस्तै विभिन्न सरोकारवालाहरुको बीचमा संघीयतामा खानेपानी तथा सरसफाईको विषयमा १ महिनाभित्र एक दिवसीय कार्यशाला गोष्ठी गर्ने कार्यक्रम तय गरिएको छ ।

खानेपानीको संकट समाधान, गुणस्तरीय पानीको उत्पादन र प्रभावकारी वितरणको साथै पानीको पुनउपयोगको बारेमा नेपालका नीति निर्माता र यस क्षेत्रमा कार्यरत प्राविधिक तथा स्थानीय तहका नेताहरुलाई जानकारी दिने उद्देश्यले कोरियन स्मार्ट वाटर ग्रीडसंग मिलेर २०७५ श्रावण महिनामा स्मार्ट वाटर विषयमा २ दिने कार्यशाला गोष्ठी आयोजना गरिने भएको छ ।

खानेपानी, स्वास्थ्य र सरसफाईको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुले उक्त अन्तराष्ट्रिय सम्मेलनले पारित गरेका संकल्प सहितका विषयलाई कार्यान्वयन गर्न आगामी बजेटमा यथोचित व्यवस्था गराउनका लागि विभागीय मन्त्री र योजना आयोगका जिम्मेवार पदाधिकारीहरुलाई समेत भेटघाट गरि ध्यानाकर्षण गर्ने कार्यक्रम समेत तर्जुमा गरेको छ ।

चैत्र २७ देखि २९ गतेसम्म काठमाडौंमा सम्पन्न “जल, वातावरण र जलवायु परिवर्तनः ज्ञानको आदानप्रदान तथा साझेदारी” विषयक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनद्धारा भएको थियो । सम्मेलनमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा.हा¨ सा¨ सु, एशियाली विकास बैंकका उपाध्यक्ष बमबा¨ सुशान्तनु बन तथा वातावरण मन्त्री माननीय शक्ति बस्नेत, यूनिसेफका कन्ट्री डाइरेक्टर तोमू होजुमी, भारतको डा मोदी विश्वविश्द्यालयका उपकुलपतिले विभिन्न शत्रमा प्रमुख वक्ताको रुपमा बोलेका थिए । त्यस्तै पूर्वमन्त्रीहरु,राष्टिय योजना आयोगका पूर्व सदस्य लगायतका प्रतिष्ठित व्यक्तिहरु सामूहिक छलफलमा सहभागी भएका थिए ।

त्यस्तै सम्मेलनको समापन शत्रको प्रमुख अतिथि एवम् सभामुख कृष्णबहादुर महराले स्वच्छ पानी र वातावरण सम्बन्धी कानून बनाउन पूर्ण सहयोग गर्ने बचन दिएका थिए ।

नेपालका स्थानीय निकायका पदाधिकारी, उपभोक्ता समितिका प्रतिनिधि र नेपाल सहित विश्वका पानी, वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विज्ञ र व्यवसायीहरु गरी ७ सय भन्दा बढीको सहभागिता रहेको अन्तराष्ट्रिय सम्मेलनमा विभिन्न शत्रमा १८ वटा कि नोट पेपर र ११६ वटा कार्यपत्र प्रस्तुत गरी छलफल पश्चात आवश्यक संशोधन सहित पारित गरिएको छ र सम्मेलनले समापनको अवसरमा ११ बूँदे संकल्प पनि जारी गरेको थियो ।

जसमा जलवायु समानुकूलन पूर्वाधार निर्माणमा उपयुक्त नीति, कानून र पर्याप्त वित्तीय व्यवस्थाद्धारा सघाउनु पर्ने, नयाँ, किफायती र ऊर्जाप्रभावी प्रविधिमा लगानी बढाउनु पर्ने, सुरक्षित ढंगले सरसफाई व्यवस्थित गर्न तथा फोहर पानी निसृत गर्नको लागि राष्ट्रिय मापदण्ड र सूचकहरु विकसित गरी द्रुत गतिमा काम गर्दै ती मापदण्डको पालनाको अनुगमन गर्नुपर्ने, जलवायु समानुकुलनसंग सम्बन्धित चुनौतिहरुलाई सम्बोधन गर्नको लागि प्रमाण र विज्ञानाधारित समाधान प्रदान गर्न आपसी सहकार्यलाई अभिबृद्धि गराउनु पर्ने , जलसुरक्षा, स्वच्छ वातावरण र जलवायु समानुकूलन प्राप्त गर्न शिक्षा र क्षमता अभिबृद्धिकालागि अनुसन्धान र प्राज्ञिक संस्थाहरुलाई सघाउनु पर्ने विषय परेका छन् ।

त्यस्तै पारस्परिक लाभहरू हासिल गर्नका लागि स्रोत(साधन र ज्ञानको आदान)प्रदानमा दिगो साझेदारी अभिबृद्धि गर्न अन्तर्राष्ट्रिय कूटनीति, संवाद र सहकार्य गर्नुपर्ने, सित्तैमा प्राप्त हुने वर्षातको पानीको संकलन र उपयोगमा ध्यान दिनपर्ने, साझा विकासको उद्देश्य हासिल गर्न सार्वजनिक, निजी, साझेदारी, आधिकारिक विकास सहायता (ओडीए) को वृद्धिका साथै दक्षिण र त्रिकोणीय सहयोगलाई बढाउनु पर्ने, ढलको समुचित व्यवस्थानबाट प्राप्त प्रशोधित मल र फोहर पानीको प्रशोधनबाट प्राप्त खैरो पानीलाई घरेलु र सामुदायिक उपयोगमा प्रबर्धन गरिनुपर्ने बढ्दो जनचेतना र सुधारिएको सामाजिक समावेशिता तथा लैंगिक समानता न्यायोचित पहुँच र दिगो प्रतिफलका लागि सुनिश्चित गरिनुपर्ने तथा जल नेतृत्वलाई पानी, वातावरण र जलवायु परिवर्तनका विषयहरुको प्रभावकारी, कुशल र दिगो व्यवस्थापनका उद्देश्यहरुलाई आत्मसात गराउदै अपेक्षित परिणाम हासिल गर्नका लागि तत्पर बनाउन हरेक तहमा हेरविचार गरिरहनुपर्ने कुरा उल्लेखित छन् ।

प्त्रकार सम्मेलनमा पूर्व मन्त्री गणेश साहले सम्मेलनबाट पारित संकल्पहरु कार्यान्वयनका लागि केन्द्रीय स्तरमा नीति निर्माण तहमा पैरवी गर्ने र स्थानीय तहमा कार्यरत प्राविधिक र जनप्रतिनिधि तथा उपभोक्ता समितिहरुलाई ज्ञान र अनुभव बाडने गरी एकसाथ दुई कोणबाट काम थालिने बताएका थिए ।

कर्यक्रममा नेपाल इञ्जिनियर्स एशोसियसनका अध्यक्ष ई. हरेराम श्रेष्ठले पानी, सरसफाई,वातावरण र जलवायु परिवर्तनका विषय हरेक परिवारको तहमा पुग्नुपर्ने भएकोले सम्मेलनबाट पारित संकल्पहरु स्थानीय आवश्यकताहरुलाई ध्यानमा राख्दै कार्यान्वयन गर्ने दिशामा अग्रसर बनाउन देशव्यापी अभियान थालनी गर्न लागेको बताएका थिए ।