अन्तर्राष्ट्रिय

गाजामा प्रदर्शनकारीमाथिको सैन्य कारबाहीमा ५९ मारिए

गाजा सिटी । आइतबार गाजाको सीमामा इजरायली सेनाले गरेको कारबाहीका क्रममा मारिनेको संख्या ५९ पुगेको समाचारमा जनाइएको छ ।

उक्त क्षेत्रमा मङ्गलबार पनि पुनःप्रदर्शनको अनुमान गरिएको छ । सो क्षेत्रमा विगतका केही दिनदेखि विरोध प्रदर्शन जारी रहेका छन् ।

इजरायली सेनाले आत्मरक्षाको लागि गरिएको कारबाही भन्दै गाजा र प्यालेस्टानको सीमामा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गरेको कारबाहीको क्रममा ५९ जना प्यालेस्टिनी मारिएका छन् ।

अमेरिकी राजदूतावास जेरुसेलममा राख्ने विषयमा इजरायल र प्यालेस्टाइनबीच केही वर्षयता द्वन्द्व जारी रहेको छ ।

सोमबारको विरोध प्रदर्शन अमेरिकाले आफ्नो दूताबास जेरुसेलममा सारेको विरोधका साथै इजरायलद्वारा सीमाक्षेत्रमा गरेको हस्तक्षेप विरुद्ध भएको बताइएको छ ।

प्रदर्शनमा सहभागी सयौं प्यालेस्टाइनीमध्ये करिब दुई हजार ७०० जना घाइते भएका छन् । हिजोको सो कारबाहीलाई रक्तपातपूर्ण भनिएको छ ।

गत मार्च ३० देखि निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीमाथि इजरायली सेनाले गरेको सैन्य कारबाहीको क्रममा ११३ भन्दा बढीको मृत्यु भएको छ ।

इजराली सेनाको यो कारबाहीको अन्तरराष्ट्रियस्तरमा व्यापक निन्दा भएको छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले घटनालाई एउटा नरसंहारको संज्ञा दिनुभएको छ ।

फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँले उक्त घटनाको भत्र्सना गरेका छन् र टर्कीका राष्ट्रपति रेसेप तायप एर्दोगानले इजराल आतङ्क र नरसंहारको आरोप लगाएका छन् ।

इजरायली सशस्त्र फौजबाट प्रदर्शनकारीमाथि गरेको यस कारबाहीको अन्तरराष्ट्रिय जगतमा निन्दा भएको छ । दुई राज्यले वार्ताबाट नै समस्याको हल गर्नुपर्ने अन्तरराष्ट्रिय जतगको भनाइ रहेको छ ।

तर बेलायतले भने आफ्नो सिमानाको रक्षा गर्न पाउने इजरायलको अधिकार भएको तर्क अघि सोरेको छ ।

जेरूसलेममा अमेरिकी दूतावास खोलिएको विरोधमा प्यास्लेस्टाइनीले गरेको हिंसात्मक प्रदर्शनका क्रममा आफ्नो देशले सुरक्षा कदम स्वरुप सो कारबाही गर्नुपरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताएका छन् ।

सो क्षेत्रमा मङ्गलबार पनि प्रदर्शनको त्रास कायमै रहेको भन्दै ठूलो संख्याका प्रहरी तैनाथ गरिएको बताइएको छ ।

संयमता अपनाउन इजरायललाई चीनको आग्रह

यसैबीच चीनले संयमता अपनाउन इजरायललाई आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता लुछाङले सो आग्रह गरेका हुन् ।

इजरायली सेनाको कारबाहीमा ५९ जना प्यालेस्टाइनीको ज्यान गएपछि चीनले यो आग्रह गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले सो घटनाप्रति चीन गम्भीर रहेको भन्दै इजरायलका सामु संयमता अपनाउनु बाहेकको अर्को विकल्प नरहेको बताएका हुन् ।-रासस÷एएफपी