आर्थिक

बायोब्रिकेट उद्योेग तीन वर्षदेखि बन्द

फलेवास । कुनैबेला लाखौँ रुपैयाँको लगानीमा सञ्चालन गरिएका बायोब्रिकेट उद्योग अहिले अलपत्र अवस्थामा छ ।

विगत आठ वर्षअघि स्थापना गरिएको जिल्लाको एकमात्र बायोब्रिकेट उद्योग तीन वर्षदेखि बन्द अवस्थामा छ । जंगलमा खेर जाने वनमारा झारको उपयोग गरी खाना पकाउने एलपी ग्यासको विकल्पमा प्रयोग गर्न सकिने बायोब्रिकेट उद्योग उचित बजारको अभावमा बन्द भएको हो ।

विभिन्न गैरसरकारी संस्थाको सहयोगमा स्थानीय सामुदायिक वनले उद्योग स्थापना गरेको भए पनि दिगो रुपमा भने सञ्चालन हुन सकेन । अहिले सो उद्योगका भवन जीर्ण अवस्थामा छन् ।

कुश्मा नगरपालिकाको कालीगण्डकी पातलखर्क छमर्के सामुदायिक वनका उपभोक्ताद्वारा सञ्चालित सो उद्योग अहिले पूर्णरुपमा बन्द छ । दातृ निकायको सहयोगमा सञ्चालित सो उद्योग केही वर्षसम्म सञ्चालनमा आएको थियो । सामुदायिक वन समूहको रु आठ लाखको लागतमा निर्माण गरिएको भवन तथा उद्योगका रु पाँच लाखका उपकरणमा अहिले खिया लागेको छ ।

उद्योगका संस्थापक अध्यक्ष टेकनारायण श्रेष्ठले नयाँ वन समूहका पदाधिकारीले चासो नदेखाउँदा तथा बजार अभावका कारण उद्योग बन्द भएको बताए। उपभोक्ताको आर्थिक उपार्जनको बलियो माध्यम बनेको ब्रिकेट उद्योग सञ्चालनमा आउन नसक्दा स्थानीयवासीको आम्दानीको स्रोत बन्द भएको इलाका वन कार्यालयका प्रमुख चूडामणि बरालले बताए । सञ्चालनताका करिब ३० जनालाई प्रत्यक्ष रोजगारी दिएको सो उद्योगबाट उत्पादित ब्रिकेटले बजार नपाएपछि सञ्चालनमा समस्या आएको हो ।