कृषि

अनिकालको सजिञ्वनी सखरखण्ड

काठमाडौं । सिन्धुलीको सुनकोशी गडतिर भेगमा सखरखण्ड (स्विट पोटेटो) खेती लोकप्रिय हुँदै गएको छ ।

‘कन्दमूल खाऔँ स्वस्थ्य बनौँ’ अभियान नै सञ्चालन गरेर उक्त क्षेत्रका किसानले नगदे बालीका रुपमा सखरखण्ड खेतीलाई विस्तार गरिरहेका कृषक टेकबहादुर थापाले बताए ।

पौष्टिकताले भरिपूर्ण कन्दमूलको कोटीमा सूचीकृत सखरखण्डलाई अनिकालको सञ्जिवनीका रुपमा समेत लिने गरिन्छ । सिन्धुलीको गोलन्जोर र फिकल गाउँपालिमा करिब ४०० कृषकले अहिले व्यावसायिक रुपमा सखरखण्ड खेती शुरु गरेका छन् ।

अरु बालीको तुलनामा थोरै खर्च र कम परिश्रमबाट मनग्य आम्दानी लिन सकिने भएकाले सखरखण्डप्रति किसानको आकर्षण बढेको हो । सो क्षेत्रमा लोकप्रिय भएको सुन्तले रङको गुदी भएको सखरखण्डको उत्पादन प्रतिहेक्टर २० देखि ४० टनसम्म हुने थापा बताउछन् ।

नदीको किनार वा बलौटे माटोमा यसको बढी उत्पादन हुने राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रमका पूर्व संयोजक बुद्धिप्रकाश शर्मा बताउछन् । उच्च पहाडी कृषि सहकारी संस्थाले गोलन्जोर र फिकल गाउँपालिकाका किसानलाई निःशुल्क रुपमा लहरा (बीउ) वितरण गर्दै आएको छ ।

मुलुकका सबै भागमा सखरखण्डको उत्पादन हुने भए पनि पूर्व, मध्य र पश्चिमका पहाडी तथा तराईका जिल्लाका किसानले भने यसको फाट्टफुट्ट रुपमा व्यावसायिक खेती गर्दै आएका छन् । यसको उत्पादन पाखा पखेरा, कान्ला र ढडियानमा समेत हुने गर्छ ।

एउटा लहराबाट २०० देखि ५०० ग्रामसम्म सखरखण्ड उत्पादन हुने कृषक थापाको भनाइ छ । लहरा रोपेको तीनदेखि चार महिनादेखि नै उत्पादन हुने सखरखण्डको फल र लहरा दुवैबाट आम्दानी लिन सकिन्छ । त्यहाँबाट उत्पादन भएको सखरखण्ड काठमाडौँलगायत मुलुकका विभिन्न बजारमा प्रतिकिलो रु ३० देखि रु २०० सम्ममा बिक्री हुने गरेको छ । सखरखण्डका लहरा ९बीउ० जेठदेखि साउनसम्म लगाउने गरिन्छ भने उत्पादन कात्तिकदेखि माघसम्म हुन्छ ।

धार्मिक दृष्टिकोणबाट चोखो फलका रुपमा लिइने सखरखण्डलाई सबै उमेर समूहले उसिनेर, पोलेर तथा काँचै पनि सलाद बनाएर खाने गरेका छन् । स्थानीय जातको सखरखण्डको गुदी सेतो हुन्छ । गुदी पहेँलो हुने सखरखण्ड उन्नत जातको भएको डा शर्मा बताउछन् ।

हरिबोधनी एकादशी, मंसिरपूर्णिमा र माघे सङ्क्रान्तिका अवसरमा लाग्ने मेला र हाटबजारमा सखरखण्डको धेरै बिक्री वितरण हुँदै आएको छ । पछिल्लो समय अमेरिकी सहयोग नियोग (युएसआइडी) ले ४० जिल्लाका किसानलाई पोषणको राम्रो स्रोतका रुपमा रहेको सखरखण्ड ९स्विट पोटाटो० खेतीका लागि कृषकलाई प्राविधिक सहयोग गर्दैआएको छ । देशभर स्थानीय २५ र नयाँ उन्नत ३० जातका सखरखण्ड किसानले लगाउँदै आएका छन् ।

शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन सहयोगसमेत पु¥याउने सखरखण्ड खानाले हाड, दाँत, नसा र छालामा लाभ पु¥याउने विज्ञहरु बताउँछन् । जाडो महिनामा सखरखण्ड खानाले शरीरलाई न्यानो बनाउँछ । गरीबको खाद्यान्नका रुपमा परिचित सखरखण्ड चीनलगायत विश्वका विकसित मुलुकका तारे होटलमा महत्वपूर्ण परिकारका रुपमा राख्ने गरेको पाइन्छ ।

पछिल्लो समय सखरखण्डको पाउरोटी र हलुवासमेत लोकप्रिय बन्दै गएको छ भने मुन्टालाई गुणकारी हरियो सागका रुपमा लिने गरिन्छ । निकै स्वादिलो कन्दमूलका रुपमा रहेको सखरखण्ड पहाडी तथा तराई भेगका किसानको छाक टार्ने खाद्यान्न बन्दै आएकोछ । तराईमा सखरखण्डलाई अलुवाको नामबाट चिनिन्छ । पश्चिम पाल्पा र दाङमा गन्जी, पूर्वी पाल्पामा सुठेनी तथा पश्चिममा यसलाई सकलगञ्ज समेत भनिन्छ ।

सखरखण्डको व्यावसायिक खेतीलाई विस्तार गर्न सकेको खण्डमा किसानको जीवनस्तर उकास्न तथा मुलुकमा आउन सक्ने खाद्य संकटलाई अन्त्य गर्न ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।