देश

वर्षायाम नलाग्दै विपद्

काठमाडौं । डडेल्धुरा पछिल्लो एक सातायता दिनहुँ हावाहुरीसँगै असिना र पानी पर्न थालेपछि स्थानीयवासी विपद्को सामना गर्न थालेका छन् ।  दिनहुँ आउने असिनापानी र हावाहुरीले जीवन कष्टकर बन्न थालेको छ । डडेल्धुरालगायत प्रदेश नं ७ का पहाडी जिल्लामा वर्षायाम अगावैै हावाहुरीसँगै बाढीपहिराको विपद्बाट स्थानीयवासी प्रभावित हुन थालेका छन् । असिनापानीका कारण बालीनाली नष्ट भएपछि भोकमरीको सामना गर्नुपर्ने अजयमेरु– २ का चन्द्र ऐरले जानकारी दिए ।

हावाहुरीको प्रकोपले पनि ठूलो क्षति पु¥याएको छ । हावाहुरीका कारण भागेश्वर गाउँपालिकाका– ८ विद्यालयका छाना उडाउनका साथै विद्यालय भवनमा समेत क्षति पु¥याएको गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले जानकारी दिए ।

हावाहुरीका कारण गन्यापधुरा गाउँपालिकामा पनि ठूलो क्षति भएको छ । गाउँपालिकाको केन्द्र बडालस्थित प्रहरीचौकी, बडाल बजारमा रहेका केही पसलका साथै गाउँपालिकाका विद्यालयको छानो हावाहुरीले उडाएको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवल मल्लले बताए ।

गन्यापधुरा गाउँपालिकाद्वारा निर्माणाधीन आवास भवनका साथै स्थानीयवासीका केही पसल, विद्युत्का खम्बा र ट्रान्समिटरमा हावाहुरीले क्षति पु¥याएपछि विद्युत् सेवासमेत अवरुद्ध भएको बडाल प्रहरीले जनाएको छ ।

स्थानीय गणेश मावि बडाल र सिमेश्वर प्रावि कुजाकोटका छाना हावाले उडाएको स्थानीयवासीले जानकारी दिए । अजयमेरु गाउँपालिकाको २ नं वडामा समेत केही सर्वसाधारणका घरमा क्षति भएको चमडा प्रहरीले जनाएको छ । जस्तापाताको छानो भएका घर र विद्यालयमा बढी क्षति पुगेको अजयमेरु– १ का वडाध्यक्ष दत्तीसिहं भण्डारीले जानकारी दिए ।

वनमा पनि क्षति

हावाहुरीका कारण अधिकांश सामुदायिक वनमा दर्जनाँंै सल्लाका रुख ढलेका छन् । एक साताभित्र आएको हावाहुरीका कारण अमरगढी नगरपालिका– ३ स्थित राजपुरा सामुदायिक वनका करीब तीन दर्जन सल्लाका रुख ढलेको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बलराम खत्रीले जनाउनुभयो ।

साुमदायिक वनको छेउमै रुख ढल्दा एक जनाको घरमा सामान्य क्षति पुगेको छ । ऐरढुंगरा सामुदायिक वनमा पनि धेरै मात्रामा सल्लाका रुख ढलेको स्थानीयवासीको भनाइ छ । दिनहुँको हावाहुरीका कारण जिल्लाका धेरै सामुदायिक वनका सल्लाका रुख ढलेको जिल्ला वन कार्यालयका वन अधिकृत केशव पुडासैनीले बताए ।

साुमदायिक वनमा ढलेका सल्लाका रुखको व्यवस्थापनका लागि तथ्यांक लिने काम भइरहेको छ । सल्लाका रुखलाई समयमै व्यवस्थापन गर्न नसके वर्षात्को पानीले काठ कुहिने भएकाले जिल्ला वन कार्यालयको सल्लाहानुसार तथ्यांक संकलन गरी दैवीप्रकोपअन्तर्गत जिल्लास्थित समितिमा पेश गरिने सामुदायिक वनले जनाएका छन् ।

हावाहुरीका कारण ढलेका रुखको व्यवस्थापन गर्न नसके लाखांैँ रुपैयाँ बराबरको क्षति हुने वन उपभोक्ताको भनाइ छ । वर्षात् शुरु नहुँदै स्थानीयवासीले बाढी र पहिराको विपद्को सामना गर्नुपरेको छ । विपद् न्यूनीकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट वर्षेनी ठूलो रकम खर्च भइरहेको छ ।

विपद् पूर्वतयारीमा सजगता अपनाउन नसकिएकाले वर्षायाममा झनै सङ्कट थपिने भन्दै स्थानीयवासी चिन्तित छन् । विपद् पूर्वतयारीका लागि विभिन्न गैरसरकारी संस्थाबाट जनचेतनामूलक गतिविधि भइरहेको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीको भनाइ छ ।