शिक्षा

अभिभावकको समर्थनमा प्रधानाध्यापकको पुनर्बहाली

काँकडभिट्टा । पाँचदिन अघि विद्यालय सञ्चालकद्वारा मनोमानीपूर्वक हटाइएका मेचीनगर–१३ चारआलीस्थित लिटल एन्जेल्स बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेश सेढाई अभिभावकको समर्थनमा पुनर्बहाली भएका छन् ।

एक हजारभन्दा बढी विद्यार्थी रहेको लिटल एन्जेल्सका सञ्चालकले प्रधानाध्यापक सेढाईलाई गत शुक्रबार हटाएका थिए । तर उनलाई हटाइएकोमा विरोध जनाउँदै सयौँ अभिभावकले सोमबार विद्यालयमा तालाबन्दी गरेपछि अभिभावक, विद्यालय सञ्चालक र जनप्रतिनिधिको संयुक्त भेलाले प्रधानाध्यापकको तत्काल पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

पुनर्बहाली भएका प्रधानाध्यापक सेढाईलाई अभिभावकले अबीरजात्रा समेत गरेका छन् । लिटल एन्जेल्समा सीके कार्की, सुभाष शेर्पा र मनबहादुर तामाङ सञ्चालक रहेका छन् ।

प्रधानाध्यापक सेढाईले आफ्ना नानीहरुको पढाइ लेखाइमा अत्यन्त सुधार ल्याएको हुँदा उनलाई नहटाउन माग गर्दै आन्दोलित हुनु परेको अभिभावकसमेत रहेकी मेचीनगर–१३ की रीता परियारले बताए ।

अभिभावक र विद्यार्थीले मन पराएको प्रधानाध्यापकलाई हटाएर सञ्चालकले गल्ती गरेको स्थानीय रेणुका नेपालले बताए । प्रधानाध्यापक सेढाँई आएपछि लिटल एन्जेल्समा विद्यार्थी संख्या ह्वात्तै बढेको र विद्यालयको भौतिक विकाससमेत भएको अभिभावक कमला भण्डारीको धारणा छ ।

प्रधानाध्यापक सेढाँईलाई के कारण हटाइएको हो भन्नेबारेमा विद्यालय सञ्चालकले चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् । केही दिन अघि स्थानीय एक मिडियामा “प्रधानाध्यापक सेढाईले विद्यार्थी र शिक्षकलाई यातना दिने गरेको” भन्ने समाचार आएको थियो । तर त्यो समाचार गलत र सञ्चालकको स्वार्थका लागि आएको अभिभावक बताउँछन् ।

सञ्चालकबाट पीडित बनेका प्रधानाध्यापक सेढाँई न्याय खोज्दै मेचीनगर–१३ को वडापालिका समेत पुगेको थियो । उनले वडा कार्यालयमा आफूलाई न्याय दिलाइदिन माग गरेको वडाध्यक्ष कृष्ण सिग्देलले बताए ।

वडा कार्यालयले विवाद मिलाउन सोमबार बिहानैदेखि सञ्चालक र अभिभावकका प्रतिनिधिलाई राखेर छलफल चलाएको थियो ।

राजनीतिक अगुवासमेत रहेको छलफलबाट प्रधानाध्यापकलाई तत्कालै पुनर्बहाली गर्ने निर्णय भएको मेचीनगर नगरपालिकाकी नगर कार्यपालिका सदस्य निरु परियारले बताउनुभयो ।

छलफलमा वडाध्यक्ष कृष्ण सिग्देल, नगर कार्यपालिका सदस्य निरु परियार, विद्यालयका पूर्व अध्यक्षहरु पुष्पराज कार्की, सन्तोष न्यौपानेलगायतको उपस्थिति थियो ।