मनोरञ्जन

क्यान्भासमा ‘माडी’का चित्र उतार्दै कलाकार

नारायण ढुंगाना/माडी, चितवन ।सोमबारको चर्को घामको रापको कलाकारलाई कुनै परबाह थिएन, माडी अयोध्यापुरी सामुदायिक भवनमा । छेउमा थियो मकै र भटमासको खाजा ।

रङमा चोप्दै कला कोर्न ब्रस समातेका कलाकारका हात बेलाबेलामा मकै र भटमासमा पुग्थे । मुखमा मकै कुटुकुटु चपाए पनि उनीहरुको नजर कहिले मोबाइलमा पुग्थ्यो त कहिले क्यान्भासमा ।

दुई दिन लगाएर माडीका विभिन्न क्षेत्रका दृष्य मोबाइलमा कैद गरेका विभिन्न जिल्लाका १४ जना कलाकार सोमबारदेखि माडीमा यस्तैयस्तै काममा व्यस्त थिए ।

विभिन्न नौ थरि मिसिएको एक्रेलिक रङमा ब्रस चोप्दै सजीव चित्र उतार्नु उनीहरुका लागि ठूलै चुनौती देखिन्थ्यो । अरु कलाकारभन्दा आकर्षक, सुन्दर र उत्कृष्ट बनाउने ध्येय सबैमा झल्किन्थ्यो ।

त्यही भीडमा माडी नगरपालिका–८ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र वैकुण्ठे ताल र वरपरको दृष्य क्यान्भासमा उतार्दै हुनुहुन्थ्यो, कलाकार डि (दामोदर) बराल ।

उक्त तालमा बालाचतुर्दशीका दिन ठूलो मेला लाग्छ । दुईपट्टि जंगलको ढिस्को बीचमा घाँगर खोलाको छहरा र तल आकर्षक ताल हेर्दै सुन्दर रमणीय देखिने तालको चित्र उनले उतारेका थिए ।

“यो एउटा कुण्ड हो, माडी पर्यटन विकास समितिका अध्यक्ष नारायण पौडेलले भन्नुभयो, धार्मिक पर्यटनका हिसाबले अति नै महत्वपूर्ण छ ।”

यहाँ नुहाएमा वैकुण्ठमा बास हुन्छ भन्ने किंवदन्ती रहेको भन्दै उनले कलाको माध्यमबाट पर्यटन प्रवर्धन हुने विश्वास रहेको प्रतिक्रिया दिए ।

नजिकै रत्ननगरका योगेश खनाल पनि चित्र कोर्नमै व्यस्त थिए । पानीमा मिसाएर लगाउने रङले उनी माडीको अर्को धार्मिक पर्यटकीय क्षेत्र गोद्धकको शिव मन्दिर निर्माण गर्दै थिए ।

यहाँ आठ पाटे शिवलिङग रहेकाले पनि यसको ठूलो महत्व देखेर चित्र कोर्न मन लागेको बताउनुहुन्छ खनाल । रामनवमी र साउने सोमबार ठूलो मेला लाग्ने यो पनि अर्को आकर्षक पर्यटकीय क्षेत्र हो ।

सधैँ बालुवाका कला कोर्ने अर्का कलाकार प्रकाश थापा (प्रथा) ले यसपालि भने एक्रेलिकबाटै क्यान्भासमा माडी शिवद्वारको मगर बस्ती उतार्दै छन् ।

दक्षिण चितवनस्थित माडीको पर्यटन विकासका लागि शुरु भएको कला कार्यशालामा सोमबार दिनभर कलाकारले क्यान्भासमा माडी उतारेका छन् । आज पनि कलाकार चित्र उतार्नमै व्यस्त छन् । कार्यशालामा ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लालकाजी लामा ऐतिहासिक ढुंगामा कला भर्दै थिए । उनले अर्को चित्र माडीका विशेषता उतारेको छ ।

सो क्रममा भरतपुरका वरुणबाबु घिमिरेले पहाडी बस्ती, एनवी गुरुङले मगर जातिका एक पुरुष, डि राम पाल्पालीले थारु बस्ती र रहनसहन, संखुवासभाका दलबहादुर राईले एक बस्ती अगाडि सडकमा गाडा गुड्दै गरेका तस्वीर क्यान्भासमा उतारे ।

जेठ २ गतेसम्म चल्ने कार्यशालामा चितवनका डि बराल, योगेश खनाल, वरुणबाबु घिमिरे, लालकाजी लामा, प्रकाश थापा, तमबहादुर पुन, राजेश बराल, दिनेश्वर महतो, भीम श्रेष्ठ र संखुवासभाका डिवी राई, भक्तपुरका दीपेन्द्रमान बनेपाली, पोखराका एनवी गुरुङ, पाल्पाका डि राम पाल्पाली र भैरहवाका केशवराज खनाल सहभागी छन् ।

पर्यटन विकास समिति, माडीको आयोजनामा भएको उक्त कार्यशालाबाट तयार भएका तस्वीर चितवन र काठमाडौँमा प्रदर्शनी गरिने आयोजक समितिका सचिव गोविन्द न्यौपानेले बताए।

‘माडीको पर्यटन प्रवद्र्धनमा कलाकार सँगसँगै’ भन्ने नारासहित शुरु भएको कार्यशालाअन्तर्गत यहाँ धार्मिक पर्यटनसँगै थारु, मगर लगायत विभिन्न समुदायका बस्ती, वन र वन्यजन्तु, स्थानीयका चित्र, चरा तथा रहनसहनका सजीव चित्र उतारिएको छ ।

यहाँका धार्मिक पर्यटन क्षेत्र पाँचपाण्डव, परशुराम कुण्ड, सोमेसोर पहाड चर्चित छन् । भारतीय सीमासँग जोडिएको माडी विशेषगरी वन्यजन्तु र बाढीबाट प्रभावित हुँदै आएको छ । माडीमा आदिवासी थारु जातिको मुख्य बसोबास रहेको छ ।

कलाकारले क्यान्भासमा माडीको चित्र उतारेर माडी नगरपालिकालाई हस्तान्तरण गर्ने जनाइएको छ । कलाकारलाई न्यूनतम शुल्क मात्रै दिइने भएकाले करीब रु दुई लाख ५० हजारमा कार्यक्रम सम्पन्न गर्ने योजना रहेको आयोजकले जनाएका छन् ।