अन्तर्राष्ट्रिय

जेरुसेलममा अमेरिकाद्वारा दूतावास स्थापना, बेलायतले भने नसार्ने

जेरुसेलम/लण्डन । अमेरिकाले गहिरो विवादमा परेको जेरुसेलममा औपचारिक रुपमा सोमबार दूतावास स्थापना गरेको छ । दूतावास स्थापना समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्पको भिडियो सन्देश समेत देखाइएको थियो ।

भिडियो सन्देशमार्फत् राष्ट्रपति ट्रम्पले इजरायलको टेलअभिभबाट जेरुसेलममा दूतावास सार्नु पर्नाको कारणका बारेमा प्रष्ट पारेका छन् ।
तर बेलायतले भने जेरुसेलममा दूतावास सार्ने आफ्नो कुनै योजना नरहेको जानकारी दिएको छ । बेलायतका प्रधानमन्त्री टरेसा मेका प्रवक्ताले इजरायलका लागि टेल अभिभमा स्थापना गरिएको दूतावास जेरुसेलममा स्थानान्तरण गर्ने कुनै योजना नरहेको सोमबार पत्रकारहरूसँग बताए ।

प्यालेस्टिनीको चर्को विरोध र प्रदर्शनकाबीच अमेरिकाले जेरुसेलममा दूतावास स्थापना गरेपनि बेलायतले नगर्ने भएको हो ।
प्रधानमन्त्रीका प्रवक्ताले भने, “राज्यको अन्तिम सहमति हुनअघि नै जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकाको निर्णयमा प्रधानमन्त्रीले गत डिसेम्बरमै असहमति जनाउनुभएको थियो ।”