अन्तर्राष्ट्रिय

निर्वाचनसँग सम्बन्धित हिंसामा पश्चिम बङ्गालमा आठको मृत्यु

नयाँ दिल्ली, भारत । भारतको पश्चिम बङ्गाल राज्यमा स्थानीय निकाय (गाउँपञ्चायत) को निर्वाचनसँग सम्बन्धित झडप तथा हिंसात्मक गतिविधि हुँदा एक सञ्चारकर्मीसहित कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।

सोमबार बिहान ७ः०० बजे मतदान शुरूभए पछि राज्यका विभिन्न स्थानमा झडपहरू भएको बताइएको छ ।

एक भारतीय टेलिभिजन च्यानलले बताएअनुसार भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का सक्रिय कार्यकर्ता तथा उहाँकी धर्मपत्नीको राज्यको दक्षिण २४ परगना जिल्लामा शङ्कास्पद भारतीय त्रिनामुल कँग्रेसका समर्थकले लगाएपछि मृत्यु भएको छ । उत्तर परगनामा पनि (माक्र्सवादी) का एक कार्यकर्ताको विष्पोटनका कारण मृत्यु भएको छ ।

त्यसैगरी त्रिनामुल कँग्रेसका एक जना समर्थकको कुकतुलीमा मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नाइडा जिल्लाको शान्तिपुर क्षेत्रमा बुथ कब्जा गरेको आरोपमा त्रिनामुल कँग्रेसका विद्यार्थी नेताको हत्या गरिएको छ । मुर्सिदावादमा भएको वम विस्पोटमा परी भारतीय जनता पार्टी (भाजपा) का एक कार्यकर्ताको निधन भएको छ ।

मुर्सिदावादको न्वाडामा स्वतन्त्ररूपमा प्रतिस्पर्धाका लागि उम्मेदवार रहेका एक जनालाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।

प्राप्त समाचार अनुसार दिउसो ३ बजेसम्ममा झण्डै ५६ प्रतिशतको हाराहारीमा मतदान भएको छ भने कतिपय स्थानमा मतदानलाई प्रभावित पार्न विष्फोटन गराइएका छन् भने कुच बेहार जिल्लामा भएको विष्फोटनका कारण २० जना घाइते भएका छन् ।

दक्षिण २४ परगना जिल्लामा सञ्चारकर्मी चढेका गाडीलाई लक्षित गरी आक्रमण हुँदा कम्तीमा पाँच पत्रकार घाइते भएका छन् । कतिपयस्थानमा मतपेटिका लुटिएको वा आगो लगाइएको छ भने कतैकतै मतपत्र च्यातेका कारण निर्वाचन स्थगित भएका छन् ।

निर्वाचनलाई सम्पन्न गर्ने शिलशिलामा निर्वाचनस्थल र वरपरका क्षेत्रमा हुलदङ्गा गर्ने समूहलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।