अन्तर्राष्ट्रिय

गाजामा ३७ को मृत्यु, नौ सयभन्दा बढी घाइते

गाजा । प्यालेस्टिनीको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा कम्तीमा ३७ जना प्यालेस्टानीको मृत्यु भएको छ ।  सोमबार भएको प्रदर्शन अमेरिकाले आफ्नो दूताबास जेरुसेलममा सारेको विरोधका साथै इजरायलद्वारा सीमाक्षेत्रमा गरेको हस्तक्षेपका विरुद्ध भएको बताइएको छ ।

इजरायलसँगको सिमानामा पर्ने गाजामा आक्रोसित प्यालेस्टिनी प्रदर्शनकारी र इजरायली सेनाबीच झडप हुँदा सोमबार उनीहरूको मृत्यु भएको हो ।

प्रदर्शनमा सहभागी सयौं प्यालेस्टिनी मध्ये झण्डै नौ सय जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।  गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल क्वेद्राले कम्तीमा ३७ जना प्यालेष्टिनीप्रदर्शनकारी मारिएको र सयौँको सङ्ख्यामा प्रदर्शनकारी घाइते भएको पुष्टि गरे ।

घाइते मध्ये २५० जनालाई इजरायली सुरक्षाकर्मीले प्रहार गरेको गोली नै लागेको उनले बताए ।  प्यालेष्टिनी प्रदर्शनकारीहरुले आवेगमा सिमाना छुट्याउनका लागि लगाइएको काँडेतार काटेर फालिदिएका छन् ।

गत मार्च ३० देखि निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीहरुको एउटा ठूलो समूहले सोमबार पनि प्रदर्शन गरेको हो ।