पु.समाचार

एफएम स्टुडियोमा प्रहरी प्रवेश घटनाप्रति ध्यानाकर्षण

काठमाडौँ । नेपाल पत्रकार महासंघले कैलालीको लम्कीस्थित सामुदायिक रेडियो पश्चिमको स्टुडियोमा कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा प्रहरी प्रवेश गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यही वैशाख ३० गते इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक कटकबहादुर रावतको नेतृत्वमा हातहतियारसहित गएको प्रहरीको टोलीले रेडियोको भवनभित्र प्रवेश गरी स्टुडियोमा अन्तवार्ता दिइरहेका व्यक्तिलाई पक्राउ गर्नुका साथै पत्रकारलाई धम्की दिएको महासंघले जनाएको छ ।

कुनै पनि बहानामा सञ्चारमाध्यममा हातहतियारसहित प्रहरी प्रवेश गरिनु तथा प्रकाशन प्रसारण भएका सामग्रीमाथि पूर्वप्रतिबन्ध लगाइनु नेपालको संविधानविपरीतको कार्य हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघको भनाइ छ ।

महासंघले आज एक विज्ञप्तिमार्फत प्रेसलाई हतोत्साहित र त्रसित बनाउने उक्त घटनाको भत्र्सना गर्दै घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।