उर्जा

विद्युत् प्रसारण प्रणाली सञ्चालन गर्न दुई दिन लाग्ने

काठमाडौँ । हावाहुरीका कारण आइतबार राति तराई–मधेश क्षेत्रस्थित नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा क्षति भएको र त्यसलाई सञ्चालनमा ल्याउन अझै दुई दिन लाग्ने भएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार तराई क्षेत्रका ३३ केभी प्रसारण लाइन हावाहुरीका कारण सबैभन्दा बढी क्षति भएको छ ।

महेन्द्रनगरबाट शुरु भएको हावाहुरीले सयौँ घर तथा आवासको छाना उडाउनुका साथै प्राधिकरणको वितरण प्रणालीमा समेत ठूलो क्षति पुगेको छ ।

हावाहुरीका कारण ढलेको खम्बा तथा तार तान्ने काम सम्पन्न गर्न कम्तीमा पनि दुई दिन लाग्ने प्रवक्ता अधिकारीले जानकारी दिए ।

आज दिनभरमा विराटनगर क्षेत्रको ६० प्रतिशत प्रसारण प्रणालीलाई पुनःसञ्चालनमा ल्याइएको छ । ठूला प्रसारण लाइनमा क्षति नपुगेको भए पनि ३३ केभी र ११ केभीका प्रसारण लाइन हावाका कारण बढी प्रभावित भएका छन् ।

यस्तै कालीगण्डकी–बुटवल खण्डको १३२ केभी प्रसारण लाइनको एउटा सर्किटमा समेत समस्या आएको छ । प्राकृतिक विपत्तिका कारण परेको समस्या समाधान गर्न प्राधिकरण लागि परेकाले धैर्यधारण गर्न सम्बन्धीत सबैमा आग्रह गरिएको छ ।

महेन्द्रनगर, कोहलपुर, नेपालगञ्ज, बारा, पर्सा, रौतहट, सप्तरी, सिराहा, जनकपुर, दुहवी र अनारमनिसम्म पनि समस्या पैदा भएको प्रवक्ता अधिकारीको भनाइ छ ।

वितरण प्रणाली सुधार गर्न प्राधिकरणले उल्लेख्यमात्रामा जनशक्ति परिचालन गरेको जनाएको छ । हावाहुरीका कारण पोल तथा तार ढलेको र लत्रेको भए प्राधिकरणको सम्बन्धित वितरण केन्द्र तथा जिल्ला कार्यालयलाई जानकारी दिनसमेत आग्रह गरिएको प्रवक्ता अधिकारीको भनाइ छ ।

प्राधिकरणले आइतबार साँझदेखि नै औद्योगिक करिडोरको विद्युत्भार कटौती अन्त्य गरेको थियो । तर रातभर चलेको हावाहुरीका कारण प्रणालीमा समस्या आउँदा तराईको जनजीवनसमेत प्रभावित हुन पुगेको छ ।

कतिपय स्थानमा के–कति क्षति भयो भन्ने विवरण आउनसमेत बाँकी रहेको छ । हावाहुरीका कारण पूर्वाञ्चलको पहाडी क्षेत्रको प्रसारण प्रणालीसमेत अवरुद्ध भएको छ ।