पर्यटन/संस्कृति

केशवनारायण चोकको पुनःनिर्माण असारसम्म सकिने

ललितपुर । पाटन दरबार क्षेत्रमा रहेको केशवनारायण चोकको पुनःनिर्माण आगामी असारसम्म गरिसक्ने तयारी भएको छ ।

काम धमाधम अघि बढेकाले अब दुई/तीन महिनासम्ममा सकिने पाटन सङ्ग्रहालयले जनाएको छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक सुरेश लाखेले पश्चिम गाह्रोको काम सकिन लागेको बताए । निरन्तर वर्षाका कारण छानाको काम भने रोकिएको छ । उनले भने, “वर्षा रोकिनासाथ छानाको काम गरिनेछ ।” दुई/तीनदिनपछि उत्तर र दक्षिण गाह्रोको काम शुरु हुनेछ ।

सङ्ग्रहालय रहेको यो चोकको पुनःनिर्माणका लागि पहिले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले झण्डै रु ६३ लाख सहयोग गरेको थियो । उत्तर र दक्षिण भागको गाह्रो निर्माणका लागि रु ४२ लाखमा केही समय पहिलेमात्रै ठेक्का भएको छ । यसमा अष्ट्रेलीयाको युनिभर्सिटी अफ एप्लाइड साइन्सले आर्थिक सहयोग गरेको छ । अपुग पैसा भने सङ्ग्रहालय आफैँले पनि हाल्दैछ । कार्यकारी निर्देशक लाखेले भने, “हामी जसरी पनि चाँडो काम सकाउने तयारीमा छौँ ।”

केशवनारायण चोकमा रहेको सङ्ग्रहालयलाई अहिले अस्थायी प्रदर्शनी कक्षमा राखिएको छ । चाँडो पुनःनिर्माण सकेर सङ्ग्रहालय पुरानै ठाउँमा सारिने जानकारी दिंदै उनले भने, “पुनःनिर्माण सकिएपछि दुई/तीन महिनामित्र सजावट गर्नुपर्छ र त्यो सकाएर सङ्ग्रहालय सारिनेछ ।”

गत पुस महिनाबाट यो चोकमा पुनःनिर्माण शुरु भएको हो । दरबार क्षेत्रकै मूल चोकमा पनि अहिले पुनःनिर्माणको काम भइरहेको छ ।