समाचार

बसपार्कमा अपांगमैत्री शौचालय निर्माण

काठमाडौँ । नेपालको एकमात्र राष्ट्रिय बसपार्क गोँगबुको नयाँ बसपार्कमा अपांगमैत्री शौचालय निर्माण भएको छ ।

पचास वर्षका लागि नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले शारीरिक रुपमा अपांग भएका यात्रुलाई लक्षित गरी शौचालय निर्माण गरेको हो । यसअघि बसपार्कभित्र अपांगमैत्री शौचालय थिएन ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले अपांगता भएका यात्रुलाई लक्षित गरेर रु २५ लाख लागतमा शौचालय निर्माण गरेको जानकारी दिए ।

“शौचालयभित्र ह्विलचियरसमेत जान मिल्ने गरी निर्माण गरेका छौँ,”– उनले भने । शौचालयभित्र महिला र पुरुषका लागि छुट्टाछुट्टै ढोकाको व्यवस्था गरिएको छ ।
कूल १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा एक हजार सवारीसाधन पार्किङ गर्न मिल्नेछ ।