पर्यटन/संस्कृति

गोवर्धन मठका शंकराचार्य निश्चलानन्द काठमाडौँमा

काठमाडौँ । जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वती आज नेपालको साताव्यापी धार्मिक यात्रामा आएका छन् ।

सोमबार बिहान उनले पशुपतिनाथ मन्दिरमा वैदिक विधिअनुसार विशेष पूजा गर्नेछन् । पूजापछि पशुपतिको शंकराचार्य मठमा उनको विश्रामको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपतिमा विशेष पूजा र विश्रामपछि हंसमण्डपमा शंकराचार्य निश्चलानन्द सरस्वतीले प्रवचन दिने कार्यक्रम रहेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

जेठ १ गते मंगलबार टुँडिखेलमा शंकराचार्यको नागरिक अभिनन्दन गरिनेछ । नागरिक अभिनन्दनपछि उनले टुँडिखेलमा पनि प्रवचन दिनेछन् । जेठ २ गते बुधबार त्रिभुवन विश्वविद्यालय संस्कृत विभागले कीर्तिपुरस्थित स्मृति हलमा आयोजना गर्ने कार्यक्रमलाई शंकराचार्य निश्चलानन्द सरस्वतीले सम्बोधन गर्नेछन् ।

जेठ ४ गते भरतपुर र ६ गते वीरगञ्जमा आयोजना हुने कार्यक्रममा पनि उनले प्रवचन गर्नेछन् । आद्य शंकराचार्यले बसालेका चार मठमध्ये गोवद्र्धन मठ एक हो । अन्य तीन मठमा श्रृंगेरी, द्वारका र ज्योतिर्मठ छन् । निश्चलानन्द गोवद्र्धन मठका १४५औँ शंकराचार्य हुन् ।

यसअघि विसं २०५४ मा तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको निमन्त्रणामा जगद्गुरु शंकराचार्य जयेन्द्र सरस्वती नेपालको धार्मिक यात्रामा आएका थिए । यसपटक पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले शंकराचार्य निश्चलानन्द सरस्वतीलाई धार्मिक पर्यटनका लागि नेपाल आमन्त्रण गरेका हुन् ।

शंकराचार्यको स्वागत एवं विभिन्न स्थानमा हुने कार्यक्रमको व्यवस्थापन तथा संयोजनका लागि जगद्गुरु शंकराचार्य निश्चलानन्द सरस्वती नागरिक स्वागतार्थ मूल आयोजक समिति गठन गरिएको छ ।

समितिले सोमबार र मंगलबार अपराह्न ३ बजे कमलपोखरीस्थित अग्रवाल भवनमा धर्मसभाको आयोजनासमेत गरेको छ ।