राजनीति

अनेरास्ववियु केन्द्रीय कमिटीको बैठक काठमाडौँमा हुने निर्णय

काठमाडौँ । अनेरास्ववियुको केन्द्रीय कमिटीको बैठक आगामी जेठ ४ र ५ गते काठमाडौँमा हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरमा जेठ ४ गते उद्घाटन गर्नुहुने भनिएको उक्त बैठकले अध्यक्ष नवीना लामालाई बिदाई तथा नयाँ नेतृत्व छनोट गर्नेछ ।

मुलुकको विकास र समृद्धिका लागि अबको विद्यार्थी आन्दोलनको कार्यदिशा तथा भावी रणनीतिकाबारे समेत बैठकमा छलफल गरिनेछ ।

संगठनका अध्यक्ष लामा प्रतिनिधिसभा सदस्यमा मनोनीत भएपछि दैनिक कार्यभारलाई व्यवस्थित गर्न सर्वसम्मतबाट नेतृत्वका लागि आवश्यक छलफल गर्न जेठ ५ गते ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा छलफलका लागि व्यवस्था गरिएको छ ।

बैठकबाट आउने नयाँ नेतृत्वले अखिल क्रान्तिकारीसँग एकता गरेपछि नयाँ राष्ट्रिय सम्मेलन गर्नेछ । करीब दुई वर्ष अगाडि हुन लागेको संगठनको सम्मेलन नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधनमा स्थगित गरिएको थियो । त्यसपछि पनि पार्टीको स्थायी समितिको बैठक, स्थानीय तहको निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका कारण पनि सम्मेलन हुन नसकेका कारण संगठनले नयाँ नेतृत्व लामो समयदेखि पाउन सकेको छैन ।

संगठनको अध्यक्ष पदका लागि हाल उपाध्यक्ष तथा महासचिवको जिम्मेवारीमा रहेका पदाधिकारीबाट सर्वसम्मत गर्न विद्यार्थी नेताले प्रयास गरिरहेको सचिव आरसी लामिछानेले जानकारी दिए । सहमति हुन नसकेमा निर्वाचनको प्रक्रियाबाट पनि नेतृत्व चयन गरिनेछ ।

अध्यक्ष पदका लागि संगठनका उपाध्यक्ष महेश वर्तौला, रश्मी आचार्य, शैलेश लामा र सुनिता बराल तथा महासचिव ऐन महरको प्रतिस्पर्धा छ । त्यस्तै, महासचिव पदमा हालका सचिव लामिछानेका साथै विद्यार्थी नेताहरु आरती लामा, सुदेश पराजुली र समिक बडालको प्रतिस्पर्धा छ ।