पर्यटन/संस्कृति

 पर्यटकीय क्षेत्र खप्तड राष्ट्रिय निकुञ्जमामा काव्य सम्मेलन

बझाङ । प्रदेश नं ७ को प्रमुख पर्यटकीय क्षेत्र मानिने खप्तड राष्ट्रिय निकुञ्जमा रहेको त्रिवेणीमा अन्तर्राष्ट्रिय सांस्कृतिक तथा धार्मिक पदयात्रा शुभारम्भ भएको छ ।

चैनपुरमा रहेको शुर्मादेवी मन्दिरबाट शनिबार शुभारम्भ भएको पदयात्रापछि यस क्षेत्रको धार्मिक एवं पर्यटकीय महिमा बढ्दै गएको स्थानीयको भनाइ छ ।

हिन्दूहरु धर्माबलम्बीकोे आस्थाको केन्द्र रहेको धार्मिक एवं पर्यटकीय स्थल खप्तडमा यसरी पहिलोपटक अन्तर्राष्ट्रिय खप्तड सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन हुने भएपछि यस क्षेत्रमा थप उत्साह छाएको छ ।

गंगा दशहरा मेलाको अवसर पारी नेपाली साहित्य तथा सांस्कृतिक प्रतिष्ठान गोदावरी कैलालीको आयोजनामा शुरु हुने पदयात्राका लागि नेपाल, भारतको प्रसिद्ध तीर्थस्थलका प्रमुख जगतगुरु शंकराचार्यसहित सन्त, योगी, आर्चाय कवि, धर्मगुरु, साहित्यकार तथा पत्रकारको एक टोली खप्तडका लागि शनिबार प्रस्थान गरेको छ ।

आगामी जेठ १ गते खप्तड त्रिवेणीमा स्नान गरी काव्य सम्मेलन गरी धार्मिक एवं सांस्कृतिक पदयात्राको औपचारिक कार्यक्रमको थालनी गरिने बझाङका धर्मगुरु शास्त्री विष्णुभक्त जोशीले बताए ।

‘खेचर’ भनेको देवताको बासस्थान र उनीहरुको घुम्ने तपोभूमि हो, जोशीले भने, “हाम्रै बाजेहरुको पालामा समेत सिद्घ तथा अप्सरालाई गोठालाहरुले भेट्ने गरेको सुन्न पाएका हौँ ।” खप्तडका घाँसे मैदान तथा फूलका बगानले विभिन्न ढुंगाका आकृतिले अचम्म लाग्दा गुफाहरुले समेत यो क्षेत्र देवभूमि भएको प्रमाणित हुँदै आइरहेको छ ।

पछिल्लो समयमा खप्तड क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन विभिन्न प्रयास भएको भए पनि यसको गरिमा र महिमाका बारेमा अझै पनि प्रचारप्रसार हुने नेपाल पत्रकार महासंघ बझाङका पूर्वअध्यक्ष जगत खड्काले बताए ।