पर्यटन/संस्कृति

माडीको पर्यटक विकासका लागि ‘कला कार्यशाला’

रत्ननगर, चितवन । दक्षिण चितवनस्थित माडीको पर्यटन विकासका लागि कला कार्यशाला शुरु भएको छ । पर्यटन विकास समिति माडीको आयोजनामा देशका विभिन्न जिल्लाबाट आएका १४ कलाकारको सहभागितामा कला कार्यशाला शुरु भएको कार्यक्रम संयोजक नारायण पौडेलले जानकारी दिए ।

उहाँका अनुसार वैशाख २९ देखि जेठ २ गतेसम्म चल्ने कार्यशालामा कलाकारले माडीको पर्यटन तथा धार्मिक क्षेत्र, जातजाति, संस्कृति तथा माडीको विशेषता झल्कने तस्बिर क्यान्भासमा उतार्ने छन् ।

‘माडीको पर्वटन प्रवर्धनमा कलाकारहरु सँगसँगै’ भन्ने नारासहित शुरु भएको कार्यशालाअन्तर्गत शनिबारदेखि कलाकारले माडीको स्थलगत भ्रमण गरेर तस्बिर कैद गर्ने काम गरिरहेका छन् । सोमबारदेखि क्यान्भासमा चित्र उतार्ने काम शुरु हुने आयोजक समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक पौडेलले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जले घेरिएको दक्षिण चितवनको माडी नगरपालिका कृषि र पर्यटनका हिसाबले महत्वपूर्ण क्षेत्र हो । यहाँका धार्मिक पर्यटन क्षेत्र पाँच पाण्डव, परशुराम कुण्ड, सोमेसोर पहाड चर्चित छ । भारतीय सीमासँग जोडिएको माडी विशेषगरी वन्यजन्तु र बाढीबाट प्रभावित हुँदै आएको छ । माडीमा आदिवासी थारु जातिको मुख्य बसोबास रहेको छ ।

कलाकारहरुले क्यान्भासमा माडीको चित्र उतारेर माडी नगरपालिकालाई हस्तान्तरण गर्ने आयोजक प्रतिनिधि गोविन्द न्यौपानेले जानकारी दिए । कलाकारहरुले समेत पर्यटन प्रवद्र्धनका लागि आफूहरुले योगदान गरेको प्रतिक्रिया दिएका छन् । कलाकारहरुलाई न्यूनतम शुल्क मात्रै दिइने भएकाले करिब रु दुई लाख ५० हजारमा कार्यक्रम सक्ने योजना रहेको आयोजकले जनाएको छ ।