साहित्य

प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमीबीच सहकार्य हुँदै

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमी अफ लेटर्सबीच सघन रुपमा साहित्यिक सहकार्य हुनेभएको छ । नेपाल र पाकिस्तानबीचको सम्बन्ध र मैत्रीलाई अझ विकसित गर्दै दुवै देशको साहित्यिक विकासमार्फत दुई मुलुककका जनताबीचको सम्पर्क एवं समझदारी विस्तारका लागि प्रज्ञा–प्रतिष्ठान र पाकिस्तान एकेडेमीबीच समझदारीपत्रमा आज हस्ताक्षर भयो ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र पाकिस्तान एकेडेमीका महानिर्देशक रसीद हमिदले समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीअनुसार अब दुवै देशले आआफ्ना देशका कानुन तथा अन्तर्राष्ट्रिय नियमको परिपालना गर्दै एकार्का मुलुकका लेखक, कवि, समाजशास्त्री र अध्येतालाई एकार्का राष्ट्रको भ्रमणको व्यवस्था, दुवै प्रतिष्ठानबाट एकार्का देशमा पुस्तक प्रदर्शनी, संयुक्त सम्मेलन र गोष्ठी आयोजना गर्नेछन् ।

त्यसैगरी दुवै देशले एकअर्को देशका भाषामा लेखिएका साहित्यको अनुवादको व्यवस्था मिलाउने, प्रमुख लेखकका कृति प्रकाशन गर्ने तथा लेखक, कविको प्रशिक्षणको व्यवस्थालाई पारस्परिक रुपमा प्रोत्साहन गर्नेछन् ।

त्यस अवसरमा महानिर्देशक हमिदले नेपाल र पाकिस्तानका जनतालाई भाषिक एवं साहित्यिक रुपमा एकाकार गराउन तथा दुई मुलुकका स्रष्टाबीचको सम्बन्ध विस्तारका निम्ति प्रज्ञा–प्रतिष्ठानसँग समझदारी गरिएको बताए ।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले तक्षशिला र लुम्बिनीका बौद्धचैत्य, गुम्बा, अशोकस्तम्भ र मस्जिदले नेपाल र पाकिस्तानबीचको सम्बन्ध हजारौँ वर्ष पुरानो हो भन्ने पुष्टि हुन्छ भन्दै त्यसमा अनुसन्धान–अन्वेषण गर्न चाहने नेपालीलाई आर्थिक एवं भौतिक सहयोग गर्न आफू तयार रहेको बताए ।

कुलपति उप्रेतीले नेपाली भाषा, साहित्य र संगीतको सम्बद्र्धनमा प्रतिष्ठान निरन्तर क्रियाशील रहेको बताए । उपकुलपति विष्णुविभू घिमिरेले प्रतिष्ठान र पाकिस्तानी एकेडेमीबीचको समझदारीले दुवै देशका स्रष्टाबीच छलफल र संवाद गर्न मार्गप्रशस्त भएको बताए ।