पर्यटन/संस्कृति

पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजनाको खाँचो

पाल्पा । यहाँको पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।
ऐतिहासिक, पुरातात्विक, सामाजिक÷धार्मिक, चाडबार्ड, आर्थिक, शैक्षिक हिसाबले समेत पाल्पा पर्यटकीय गन्तव्य बन्न सक्ने भएकाले यसको प्रचारप्रसार हुनुपर्ने पर्यटन व्यवसायीहरूको भनाइ छ ।

यहाँका पुरातात्विक महत्वका मन्दिरदेखि दरबारहरु अहिले स्वदेशी तथा विदेशी पर्यटकका लागि लोभ लाग्दा छन् ।

पर्यटक आकर्षणको गन्तव्य रिडीदेखि रानीमहलसम्म जलयात्रा सञ्चालन गरी पर्यटक प्रशस्त ल्याउन सकिने र पर्यटन क्षेत्रका लागि गुरुयोजना बनाउन लाग्नुपर्नेमा प्रदेश नं ५ का वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्री लीला गिरीले जोड दिए ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स जिल्ला शाखाद्वारा ‘पाल्पाको पर्यटन प्रवद्र्धनः सम्भावना चुनौती’ विषयक कार्यशाला गोष्ठीमा मन्त्री गिरीले रिडीलाई हरिद्वारजस्तो पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले ‘जिल्लाको पर्यटन प्रवद्र्धनः सम्भावना चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्दै यहाँको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारबारे जानकारी गराए ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पर्यटन क्षेत्रमा सोचेअनुसारको लगानी हुन नसक्दा पर्यटक क्षेत्रको विकास हुन नसकेको बताए ।