शिक्षा

अनाथ बालबालिकालाई खर्चको चरम समस्या

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–५ डाँडागाउँमा सञ्चालित अनाथ तथा असहाय बाल सुधार समाजमा रहेका बालबालिकालाई विद्यालय पोशाक र अध्ययन खर्चको समस्या परेको छ ।

विसं २०५९ मा काठमाडौँको डल्लुबाट एक बालकबाट शुरु भएको समाजमा अहिले टुहुरा १३ बालिका र २४ बालक छन् । तीमध्ये १३ बालबालिकाले बालविकास समाज बूढानीलकण्ठमा निःशुल्क अध्ययन गरेको र बाँकी २४ जनालाई पञ्चकन्या माविमा पैसा तिरेर पठनपाठन गराउँदै आएको समाजका सञ्चालक रमेशदेव सुनारले जानकारी दिए । “अनाथ बालबालिकालाई पैसा तिरेर पढाउनुपर्दा समस्या परेको छ”,उनले भने ।

सुनारले आफू सानै उमेरमा अनाथ भएका कारण अनाथ बालबालिकाप्रति केही गर्नुपर्ने मान्यताका साथ १५ वर्ष पहिले समाज स्थापना गरेका थिए। समाजमा नुवाकोट, धादिङ, रसुवा, कास्की, सिन्धुपाल्चोक, कालीकोट, बाजुरा, मुगु, सुर्खेतलगायत १४ जिल्लाका अनाथ बालबालिका छन् ।

अनाथ बालबालिकालाई दुई छाक खाना खुवाउनका लागि काठमाडौँ भ्याली विद्यालय चक्रपथले प्रतिमहिना १२ बोरा चामल र चार बोरा दाल उपलब्ध गराएको र तरकारीका लागि समाजसेवी कल्पना थापाले सहयोग गरेको सञ्चालक सुनार बताउछन् । “सरकारले भने समाजका अनाथ तथा असहाय बालबालिकाका लागि केही सहयोग गरेको छैन,”, उनले भने ।