शिक्षा

पर्वतका दुई विद्यालय केयुको अनलाइन मास्टर डिग्री सेन्टर

फलेवास । काठमाडौँ विश्वविद्यालयले पर्वत जिल्लाका दुई विद्यालयमा अनलाइन कक्षा शुरु गर्ने भएको छ ।

जिल्लाको आदर्श अंग्रेजी माध्यामिक विद्यालय र भवानी विद्यापीठ माविमा अनलाइन मास्टर डिग्री कक्षा सेन्टर स्थापना गर्ने भएको हो । काठमाडौँ युनिभर्सिटीको स्कूल अफ एजुकेशनले अनलाइन मास्टर डिग्री कार्यक्रममा आदर्श र भवानी विद्यापीठ विद्यालयलाई सेन्टर स्थापना गर्न सम्झौता गरेको हो ।

कार्यक्रम काठमाडाँै विश्वविद्यालयको स्कूल अफ एजुकेशन संकायअन्तर्गत लिडरसिप म्यानेजमेन्ट र म्याथमेटिक्स इन एजुकेशन आगामी शैक्षिक सत्रबाट सञ्चालन हुनेछन् । शुक्रबार र शनिबार काठमाडौँ विश्वविद्यालयको आयोजना तथा भवानी विद्यापीठ र आदर्श माविको संयोजनमा पर्वत र बाग्लुङ जिल्लाका विभिन्न विद्यालयका शिक्षक तथा प्रअहरुका लागि भवानी विद्यापीठ माविमा र आदर्श माविमा आयोजित दुईदिने स्कूल लिडरसिप तालीम कार्यक्रमको अवसरमा भवानी विद्यापीठ मावि, आदर्श मावि र काठमाडाँै विश्वविद्यालयबीच सञ्चालन गर्ने निर्णय भएको हो ।

कार्यक्रममा विद्यालयको गुणस्तर वृद्धि गर्न प्रधानाध्यापकको भूमिकाका बारेमा तालीममा सहभागी शिक्षकलाई काठमाडौँ विश्वविद्यालयका प्रा डा वासुप्रसाद सुवेदी र डा धनपति सुवेदीले प्रशिक्षण दिएका थिए । सामुदायिक विद्यालयमा शैक्षिक सुधार अभियन्ता भवानी विद्यापीठ विद्यालयका पूर्वअध्यक्ष भोलनाथ शर्मा, आदर्श मावि कुस्माका प्रधानाध्यापक हिमबहादुर पौडेलले यो अवसरलाई जनशक्ति उत्पादन र शैक्षिक सुधारका लागि प्रयोग हुने विश्वास व्यक्त गरे ।

पहिलो दिनको अभिमुखीकरणमा फलेवास र बाग्लुङका विद्यालयका प्रअ तथा शिक्षकहरु गरी ४७ जना शिक्षकको सहभागिता रहेको थियो भने दोस्रो दिन आदर्श माविमा भएको तालीममा कुस्मासहित बाग्लुङका ३५ प्रअ र शिक्षक–शिक्षिकाको सहभागिता थियो ।