शिक्षा

विपन्न समुदायका विद्यार्थीलाई सहयोग

रामपुर, पाल्पा । कुनसरे आधारभूत विद्यालय तानसेन नगरपालिका–६ कुनसरेमा पढ्ने विपन्न समुदायका विद्यार्थीलाई पुस्तक तथा झोला वितरण गरिएको छ । पाल्पाली सेवा समाज दोहा कतारले विद्यालयमा अध्ययनरत १८ जना विद्यार्थीलाई अंग्रेजी माध्यमको पुस्तक र झोला वितरण गरेको हो ।

विद्यालयसँग समन्वय गरेर इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले पाल्पाली सेवा समाज दोहा कतारमा सम्पर्क गरी सहयोगका लागि अनुरोध गरेपछि १८ विद्यार्थीलाई पुस्तक खरीदका लागि नगद रु २५ हजार, १८ विद्यार्थीलाई झोला र चार जना विद्यार्थीलाई पोशाकसमेत उपलब्ध गराइएको छ । अंग्रेजी माध्यमको पुस्तक खरीदका लागि अभिभावलाई निकै समस्या परेको थियो ।

ज्येष्ठ नागरिकलाई सम्मान
पूर्वखोला गाउँपालिका–५ बिरकोट पाल्पाका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । यहाँका ४६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

ज्येष्ठ नागरिक समाजका पाहुना भएकाले उनीहरुलाई जीवनको अन्तिम समयसम्म पनि सधैँ खुशीका साथ बाँच्न हौसला प्रदान गर्ने उद्देश्यले नगद प्रदान गरी सम्मान गरिएको सीमा श्रेष्ठले जानकारी दिए । आफूहरुलाई सम्मान गरेपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन् ।

सोही अवसरमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिनाका साथै परामर्श सेवा दिइएको बिरकोट स्वास्थ्य चौकीका प्रमुख नहर्बु फुर्वा दोर्जेले बताए ।

मनोरोग शिविरमा नब्बे जनाको स्वास्थ्य परीक्षण

रामपुरमा चलेको निःशुल्क मनोरोग शिविरबाट नब्बे जना मनोरोगका बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । आशादीप नेपाल मेलोलिन काठमाडौँको आयोजनामा रामपुर अस्पतालमा शुक्रबार चलेको एकदिने निःशुल्क शिविरमा बिरामीको स्वास्थ्य परीक्षणपश्चात् औषधि वितरण गरिएको छ ।

शिविरमा वरिष्ठ चिकित्सक प्रदीपमान सिंह, वरिष्ठ मनोरोग विशेषज्ञ डाक्टर राजेश श्रेष्ठ र साइकोलोजिष्ट रजनी भण्डारी सहितको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका हुन् । समाजमा झट्ट नदेखिने तर धेरैमा लुप्त अवस्थामा पाइने मनोरोगको परीक्षणका लागि पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका बिरामीले शिविरबाट राम्रो स्वास्थ्य परीक्षण, उपचार औषधि सेवा पाउनाका साथै परामर्श सेवा दिइएको डाक्टर राजेश श्रेष्ठले जानकारी दिए ।