खेलकुद

प्रथम सभामुख कप भलिबल शुरु

रोल्पा । सभामुख कृष्णबहादुर महराले अबको पालो देश समृद्ध बनाउने भएकाले खेल क्षेत्रसमेत यस दिशातर्फ लाग्नुपर्ने बताएका छन् ।

प्रथम सभामुख कप भलिबल प्रतियोगिताको आज रोल्पाको लिवाङमा शुभारम्भ गर्दै उनले खेल क्षेत्रको अनुशासन, तत्परता र लगनशीलता देश विकासका लागि समेत अनुकरणीय हुने बताउँदै उनले अनुशासित र स्वस्थ नागरिकले मात्र देश विकासमा योगदान दिन सक्ने बताए ।

सभामुख महराले रोल्पामा मिनि स्टेडियम (रंगशाला) बनाउन सकिने सम्भावना रहेको औँल्याउँदै त्यसका लागि आफूले पहल गर्ने बताए।

उद्घाटन कार्यक्रममा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको पनि उपस्थिति रहेको थियो ।

राष्ट्रिय खेलकुद परिषदको संयोजनमा जिल्ला खेलकुद विकास समिति, रोल्पाले आयोजना गरेको सो प्रतियोगिता आगामी जेठ २ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा सात प्रदेश तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय टोलीका महिला र पुरुष गरी २० टोलीको सहभागिता रहेको प्रतियोगिताका कार्यक्रम संयोजक गंगाराम थापाले जानकारी दिए ।

प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः रु तीनलाख, दुईलाख र एकलाख प्राप्त गर्नेछन् ।

यसैबीच, प्रतियोगिताअनुसार आज भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नं। ३ लाई २५–२१, २५–१९ र २५–१७ ले पराजित गरेको छ ।